- सरकारले निगमको घाटा कम गर्न कर छुट, सातामा दुई दिन बिदालगायतका पहल गरिरहेको छ, तर निगमले व्यवसायीसँगको ‘मिलेमतो’मा मूल्य बढ्नु एक–दुई दिनअघि ठुलो परिमाणमा इन्धन बिक्री गरेर संस्थालाई थप नोक्सानी पुर्याइरहेको छ
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको दबाब देखाउँदै सरकारले आयल निगमको घाटा कम गर्न विभिन्न उपाय अवलम्बन गर्दै आएको छ, जसमा कर छुट, सातामा दुई दिन सार्वजनिक बिदा, विद्यालयको नयाँ शैक्षिक सत्र ढिलाइ र पेट्रोलियम पदार्थमा उल्लेख्य मूल्यवृद्धिसमेत छन् । तर, निगमले मूल्य बढ्नुअघि ठुलो परिमाणमा इन्धन बिक्री गरेर संस्थालाई थप आर्थिक नोक्सानीमा धकेलिरहेको तथ्य सार्वजनिक भएको छ ।
अमेरिका–इजरायल–इरान द्वन्द्वका कारण कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य बढेको भन्दै निगमले १ चैतयता ६ पटक पेट्रोलियम पदार्थको मूल्य बढाइसकेको छ । मूल्य बढ्ने पूर्वानुमान गर्दै पेट्रोलियम व्यवसायीले खपतभन्दा बढी इन्धन माग गर्ने र निगमले त्यसअनुसार आपूर्ति गरेको देखिएको छ । प्रत्येक महिनाको १ र १५ गते नयाँ मूल्यसूची आउने नियमित अभ्यासका कारण मूल्यको पूर्वानुमान सम्भवजस्तै देखिन्छ ।
विगतमा मूल्यवृद्धिअघि बिक्रीमा कडाइ गरिने अभ्यास भए पनि यसपटक त्यसको उल्टो देखिएको छ । निगमका उच्च व्यवस्थापन र पेट्रोलियम पम्प सञ्चालकहरूबिचको मिलेमतोबाट ठुलो परिमाणमा इन्धन बिक्री गरिएको छ । बजारको वास्तविक मागभन्दा व्यवसायीको मागका आधारमा इन्धन वितरण गर्ने प्रवृत्तिले आयल निगमलाई थप आर्थिक नोक्सानीमा धकेलिरहेको छ । १ चैत, १७ चैत र २ वैशाखको मूल्य समायोजनपूर्व निगमबाट बिक्री भएको इन्धनको तथ्यांक विश्लेषण गर्दा निगमका उच्च व्यवस्थापन र पेट्रोलियम पम्प सञ्चालकले ठुलो लाभ दिएको देखाउँछ ।
१ चैतको मूल्य समायोजनअघि ८८ लाख १३ हजार लिटरभन्दा बढी इन्धन बिक्री
निगमले १ चैत आइतबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५–१५ रुपैयाँ बढाएको थियो । तर, यसरी मूल्य बढाउनुअघि नै निगमले ठुलो परिमाणमा पेट्रोलपम्पलाई इन्धन बेचेको तथ्य भेटिएको छ । मूल्यवृद्धिअघि २९ फागुन (शुक्रबार) ४२ लाख ५२ हजार लिटर पेट्रोल र ९६ लाख ६५ हजार लिटर डिजेल बिक्री भएको थियो । शनिबार बिदाको दिन इन्धन बिक्री बन्द थियो । आइतबार राति मूल्यवृद्धि गर्नुअघि दिनभरमा पेट्रोल ४८ लाख ६ हजार लिटर र डिजेल ९० लाख ९० हजार लिटर बिक्री गरेको थियो ।
शनिबार सार्वजनिक बिदा पर्ने भएकाले अन्य दिनको तुलनामा शुक्रबार र आइतबार धेरै तेल बिक्री हुन्छ । तर, २९ फागुन शुक्रबार र १ चैत आइतबार जुन परिमाणमा इन्धन बिक्री भएको छ, त्यति धेरै इन्धन त्यसयताका कुनै पनि शुक्रबार र आइतबार बिक्री भएको छैन । त्यसैले मूल्यवृद्धि हुनुअघि ठुलो परिमाणमा इन्धन बेचेर निगम व्यवस्थापनले लाभ लिएको स्रोतको भनाइ छ ।
निगमले ६ चैत शुक्रबार २४ लाख ९० हजार लिटर पेट्रोल र ६६ लाख ४० हजार लिटर डिजेल बिक्री गरेको थियो । यही परिमाणलाई शुक्रबार र आइतबारको औसत बिक्री मान्ने हो भने मूल्यवृद्धिको छेक्का पारेर २९ फागुन र १ चैतमा बिक्री गरेको परिमाण औसत खपतको तुलनामा ८८ लाख १३ हजार लिटर बढी हो ।
निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले भने बाहिर हल्ला भएजस्तो मूल्य बढ्नुअघि इन्धन बिक्री नभएको दाबी गरे । ‘अहिले चर्को घाटा रहेकाले इन्धन बिक्रीमा कडाइको नीति लिइएको छ । सामान्य खपतको भन्दा बढी बिक्री गर्ने कुरै छैन,’ उनले भने, ‘सबै डिपोहरूमा इन्धन बिक्री पारदर्शिता अपनाउन पनि निर्देशन भएको छ ।’
निगम प्रवक्ता मनोज ठाकुरले व्यवसायीले माग गरेको परिमाण नै बजार माग भएकाले बिक्री गर्नुपर्ने दायित्व रहेको बताए । ‘व्यवसायीले मागेजति तेल दिनु दायित्व हो । यदि तेल नदिए बजारमा अभाव पनि हुन सक्छ,’ उनले भने, ‘यद्यपि, हामीले बिक्रीमा कडाइ गरेका छौँ ।’ उनले मूल्यवृद्धिअघि धेरै तेल बिक्री भएको तथ्यांक अस्वीकार गरे । ‘सार्वजनिक बिदाका दिन परेको खण्डमा धेरै तेल बिक्री हुनु स्वाभाविक हो,’ उनले भने, ‘अन्य समयमा भने मागअनुसार नै बिक्री भइरहेको छ ।’
मूल्य समायोजन नहुने यकिन भएको ६ चैत शुक्रबार २४ लाख ९० हजार लिटर पेट्रोल र ६६ लाख ४० हजार लिटर पेट्रोल बिक्री भएको छ भने ८ चैत आइतबार २१ लाख ६५ हजार लिटर पेट्रोल र ५६ लाख लिटर डिजेल बिक्री भएको छ । यो तथ्यांकले सार्वजनिक बिदाको अघिल्ला र पछिल्लो दरमा ठुलो दरले इन्धन बिक्री हुने प्रवक्ता ठाकुरको दाबीसँग मेल खादैन ।
मूल्यवृद्धि हुने १ चैतको अघिल्लो दिन २९ फागुनमा ४२ लाख ५२ हजार लिटर पेट्रोल र ९६ लाख ६५ हजार लिटर डिजेल बिक्री भएको छ । मूल्यवृद्धि भएको दिन १ चैतमा भने ४८ लाख ६ हजार लिटर पेट्रोल र ९० लाख ९० हजार लिटर डिजेल बिक्री भएको छ । पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ मूल्यवृद्धि गरिएको छ । जसकारण निगमलाई १० करोड ८३ लाख ९० हजार रुपैयाँ नोक्सानी भएको छ । निगमले नियमित तालिका १ र १५ तारिखबाहेक अन्य समय ११ चैत, १९ चैत र २६ चैतमा मूल्य बढाउँदा भने नियमित परिमाणमै इन्धन बिक्री गरेको छ ।
निगमले नाफा–नोक्सान हिसाब गर्न तयार गरेको रिपोर्टअनुसार औसत दैनिक रूपमा पेट्रोलको खपत २२ लाख र डिजेलको खपत ५५ लाख लिटर छ । आयल निगम अहिले १४ अर्ब घाटामा गएको छ । १५ फागुनसम्म करिब ५० करोड नाफा भए पनि त्यसयता मध्यपूर्वमा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकाले नेपाली बजारमा सोहीअनुसार समायोजन गर्न नसक्दा निगम घाटामा गएको हो ।
१७ चैतअघि तीन दिन लगाएर ९० लाख लिटरभन्दा बढी इन्धन बिक्री, तर मूल्यवृद्धि नहुँदा निराश
१ र १५ तारिखमा मूल्यवृद्धि गर्ने स्थायी संरचना भएअनुसार १७ चैतमा पुनः मूल्यवृद्धि गर्ने कार्यतालिका थियो । त्यसवेला पनि निगमले औसत मागभन्दा बढी हुने गरी १५ चैतमा पेट्रोल ३७ लाख ३६ हजार लिटर र डिजेल ९७ लाख २९ हजार लिटर, १६ चैतमा २९ लाख दुई हजार लिटर पेट्रोल र ७५ लाख ४७ हजार लिटर डिजेल तथा मूल्यवृद्धि हुने १७ चैतमा ३१ लाख ७४ हजार लिटर पेट्रोल र ६८ लाख ४६ हजार लिटर डिजेल बिक्री गरेको थियो ।
मूल्य समायोजन हुने तीन दिनमा औसत मागभन्दा पेट्रोल २९ लाख १२ हजार लिटर (१५ चैत आइतबारको औसत खपत २५ लाख लिटर र अन्य दिनको औसत खपत २२ लाख लिटरका आधारमा) र डिजेल ६१ लाख २२ हजार लिटर (१५ चैत आइतबारको औसत खपत ७० लाख र अन्य दिनको औसत खपत ५५ लाख लिटरका आधारमा) बढी बिक्री भएको प्राप्त तथ्यांकमा उल्लख छ । यसरी निगमले पेट्रोल र डिजेल गरेर औसत मागभन्दा ९० लाख ३४ हजार लिटर बढी बेचेको थियो । तर, १७ चैत राति सञ्चालक समितिले हवाई इन्धनको मात्र मूल्यवृद्धि गर्ने निर्णय गर्यो । जसकारण बढी तेल बेचेर लाभ लिने कर्मचारी र पम्प व्यवसायी निराश भएका थिए ।
औसत मागभन्दा बढी इन्धन आयल निगमबाट बिक्री भइरहेको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीलाई अनौपचारिक जानकारी पुगेको थियो । त्यसपछि, सञ्चालक समितिले आन्तरिक हवाई इन्धन प्रतिलिटर १२४ र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर ८१९ डलरले बढाएर अन्यको मूल्य यथावत् राखेको थियो ।
मूल्य बढ्ने आसमा पेट्रोलपम्पमा अत्यधिक तेल बिक्री भएको भोलिपल्टको तथ्यांकले पनि पुष्टि गर्छ । किनभने १८ चैत बुधबार देशभर पेट्रोल नौ लाख ५५ हजार र डिजेल ३६ लाख २५ हजार लिटर मात्रै बिक्री भएको छ, जुन सामान्य खपतको तुलनामा आधा मात्रै हो । स्रोतका अनुसार पम्पमा तेल राख्ने ठाउँ नै नभएपछि बिक्री घटेको थियो । निगमले १९ चैत बिहीबार पेट्रोल र डिजेलमा प्रतिलिटर १५–१५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । उक्त दिन भने सामान्य खपतअनुसार नै इन्धन बिक्री भएको थियो । तर, पहिले नै धेरै तेल उठाएर मौज्दात राखेकाले त्यसबाट लाभ लिएको स्रोतको भनाइ छ ।
२ वैशाखको मूल्यवृद्धिलाई लक्षित गरेर पनि मागभन्दा बढी इन्धन बिक्री
निगम व्यवस्थापन र पम्प सञ्चालकहरूले २ वैशाख (१५ अप्रिल)मा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची आउनेबित्तिकै मूल्यवृद्धि हुने अनुमान गर्दै त्यसबाट लाभ लिन अघिल्लो दिनदेखि नै ठुलो परिमाणमा इन्धन बिक्री गरेको देखिएको छ । तथ्यांकअनुसार निगमले ३० चैत (सोमबार) ४३ लाख ७२ हजार लिटर पेट्रोल बिक्री गरेको थियो, जुन सामान्य खपतको तुलनामा करिब दोब्बर हो । सोही दिन ७६ लाख ७४ हजार लिटर डिजेल बिक्री भएको थियो । यति ठुलो परिमाणको बिक्री हुनुमा अघिल्लो शनिबार र आइतबार परेको सार्वजनिक बिदा मुख्य कारण भएको निगमका प्रवक्ता ठाकुरले दाबी गरेका छन् । ‘३० चैतअघि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले इन्धन बिक्री हुन सकेन,’ उनले भने, ‘दुई दिनपछि कार्यालय खुल्दा बिक्री बढ्नु स्वाभाविक हो ।’
निगमका अनुसार लगत्तै १ वैशाखमा पनि सार्वजनिक बिदा परेकाले त्यसको प्रभाव २ वैशाखको बिक्रीमा समेत देखिएको हो । २ वैशाखमा ३४ लाख ६ हजार लिटर पेट्रोल र ६२ लाख ६८ हजार लिटर डिजेल बिक्री भएको थियो । अघिल्लो दिन बिदा परेकाले सो दिन पनि बिक्री उच्च भएको प्रवक्ता ठाकुरको भनाइ छ । सोही दिन रातिदेखि लागू हुने गरी डिजेलको मूल्य ३० रुपैयाँ बढाइएको थियो भने पेट्रोलको मूल्य यथावत् राखिएको थियो ।
यद्यपि, ३० चैतको उच्च बिक्रीलाई बिदासँग जोडिए पनि त्यसपछिको तथ्यांकले फरक चित्र देखाउँछ । ७ वैशाख (सोमबार) जुन दिन पनि अघिल्लो दुई दिन सार्वजनिक बिदापछि कार्यालय खुलेको भए पनि पेट्रोल ३७ लाख २३ हजार लिटर र डिजेल ५३ लाख २० हजार लिटर मात्र बिक्री भएको छ । यसरी तुलना गर्दा २ वैशाखको बिक्री ७ वैशाखको तुलनामा पेट्रोलतर्फ ६ लाख ४९ हजार लिटर र डिजेलतर्फ २३ लाख चार हजार लिटर बढी देखिन्छ । यसले बिदा मात्र नभई मूल्यवृद्धिको पूर्वसूचनाका आधारमा अस्वाभाविक रूपमा इन्धन खपत र वितरण बढाइएको आशंका छ ।