राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार पाण्डेलाई नियन्त्रणमा लिएको हो।
पूर्वमन्त्री तथा निर्माण व्यवसायीसमेत रहेका पाण्डे ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन- ३ बाट निर्वाचित भएका थिए।
प्रहरीका अनुसार सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरिएको प्रकरणमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।
यसअघि पनि पाण्डेविरुद्ध भ्रष्टाचारका आरोप लागेका थिए। ०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा उनी चार करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा पक्राउ गरिएको सिआइबीले जनाएको छ ।