काठमाडौंमा अतिक्रमित सुकुमवासी बस्ती हटाउने सरकारको अल्टिमेटमपछि त्यहाँ बसोबास गर्दै आएका नागरिकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ध्यानाकर्षण गराएका छन्। सुकुमवासी संघर्ष समितिको टोली वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय पुगेर ध्यानाकर्षणपत्र बुझाएको हो।
उक्त पत्र रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई हस्तान्तरण गरिएको थियो। ध्यानाकर्षणपछि फर्किएका सुकुमवासी प्रतिनिधिहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफूहरू बाध्य भएर पार्टी कार्यालय घेराउ गर्न आएको बताएका छन्।
प्रतिनिधिहरूले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै आफ्नो समस्याप्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन्।
पत्र बुझ्दै केन्द्रीय सदस्य साउदले मानव अधिकार उल्लंघन हुने गरी कुनै पनि कदम चाल्न नहुने उल्लेख गर्दै पार्टीका तर्फबाट सरकारमा रहेका नेताहरूलाई यस विषयमा ध्यान दिन आग्रह गरिने बताएका छन्।