मकवानपुरको मनहरी गाउँपालिकामा जनप्रतिनिधिले आफ्नै व्यक्तिगत खर्चमा सडक निर्माण गरेर उदाहरणीय काम गरेका छन् । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पालिका अध्यक्ष भएबापत पाउने तलब–भत्ता तथा सेवा–सुविधाबाट रकम जुटाएर वडा नम्बर– २ मा स्ल्याब ढलान सडक निर्माण गराएका हुन् ।कर्मचोकदेखि वडा कार्यालयसम्मको करिब २२० मिटर लम्बाइ र ६ मिटर चौडाइको सडक व्यक्तिगत लगानीमा ढलान गरिएको हो । प्राविधिक अनुमानअनुसार उक्त सडक निर्माणमा करिब २० लाख रुपैयाँ खर्च भएको जनाइएको छ।
बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष कालाखेतीले सडकको उद्घाटन गरेका हुन् । उनले यसअघि कात्तिक २९ गते नै उक्त सडकको शिलान्यास गरेका थिए ।उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले जेन–जी आन्दोलनपछि गाउँपालिकामा भएको भौतिक क्षति र बजेट कटौतीका कारण केही विकास आयोजना स्थगित गर्नुपरेको थियो ।
त्यसपछि स्थानीयको आवश्यकतालाई प्राथमिकतामा राख्दै आफ्नै खर्चमा सडक निर्माण गरेको उनले बताए । ‘स्थानीयको आवश्यकताअनुसार निजी पहलमै काम अघि बढाएका हौँ,’ उनले भने । उनले आफू जनप्रतिनिधि बनेपछि सरकारी सवारी सुविधा नलिएको र तलब–भत्तासमेत जनहितमै खर्च गर्दै आएको बताए । उनका अनुसार मनहरी– ५ मा एक विपन्न परिवारका लागि घर निर्माण गरिसकिएको छ भने वडा नम्बर– ६ मा अर्को घर निर्माण अन्तिम चरणमा पुगेको छ ।
यसका साथै गाउँपालिकाका विभिन्न वडाका विपन्न बालबालिकालाई छात्रवृत्ति तथा पोसाक सहयोगका लागि समेत उनले आफ्नै तलबभत्ता खर्च गर्दै आएका छन् ।