विदेशी विनिमयको मूल्यवृद्धिले बढाउँदै छ नेपालको ऋणभार

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण
  • चालू आवको नौ महिनामा विदेशी मुद्राको मूल्य बढ्दा थपियो एक खर्ब १५ अर्ब ऋणभार, गत असार मसान्तको तुलनामा एसडिआर, डलर र युरोको मूल्य ११ प्रतिशतभन्दा बढीले वृद्धि

डलर, एसडिआर, युरोलगायतका विदेशी विनियमको भाउमा भएको वृद्धिले नेपालको ऋण दायित्वको भार बढेको छ । पछिल्लो नौ महिनामै विदेशी विनिमयको मूल्यवृद्धिले नेपालको सार्वजनिक ऋणभार एक खर्ब १५ अर्ब रुपैयाँले थपिएको देखिन्छ ।

दातासँग ऋण सम्झौता भएको मितिको तुलनामा भुक्तानीको मितिका वेलामा विदेशी मुद्राको भाउ बढ्दा नेपाललाई ऋणभार थपिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले डलर र एसडिआरको मूल्य बढ्दा चैत मसान्तसम्मको ऋण दायित्व एक खर्ब १५ अर्ब बढी देखिएको बताए । यद्यपि, यो घाटा तत्कालै पूर्ति गर्नुपर्ने चाहिँ नभएको उनको भनाइ छ । पछिल्लो समय डलर र एसडिआरको मूल्य बढ्दा त्यसको प्रभाव सार्वजनिक ऋण दायित्वमा समेत देखिएको उनले बताए । ‘विदेशी ऋण अहिल्यै तिरिहाल्नुपरेको खण्डमा भने यस्तो घाटा हुने हो । भोलिका दिनमा विदेशी विनिमय दरमा हुन सक्ने परिवर्तनले ऋणभार थपघटसमेत हुन सक्छ,’ उनले भने, ‘हामीले ऋण सम्झौता गर्दाको तुलनामा अहिलेको अवस्थालाई तुलना गर्दै आएका छौँ, यसले नाफा–घाटा देखाउँछ ।’

कार्यालयका अनुसार चैत मसान्तसम्ममा नेपालले भुक्तानी गर्नुपर्ने कुल सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड ४६ लाख रुपैयाँबराबर पुगेको छ । कुल ऋणमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ८८ अर्ब ११ करोड ५७ लाख र बाह्य ऋण दायित्वतर्फ १५ खर्ब ४५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ रहेको छ । विदेशी विनिमय दरमा हुने परिवर्तनको प्रभाव बाह्य ऋण दायित्वमा देखिने हो । 

गत असार मसान्तको तुलनामा एसडिआर, डलर र युरोको मूल्य ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिन्छ । असार मसान्तको तुलनामा एसिडआर २३ रुपैयाँ, डलर १४ रुपैयाँ र युरो १७ रुपैयाँ हाराहारीले बढेको देखिन्छ । नेपालले ऋण परिचालन गरेका मुख्य विदेशी मुद्राको भाउ दोहोरो अंक दरमा बढ्दा ऋणभारसमेत बढी हुन पुगेको हो । गत असार मसान्तसम्ममा नेपालले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड ७७ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा नेपालले तीन खर्ब ४८ अर्ब १५ करोड ५१ लाख रुपैयाँ प्राप्ति र दुई खर्ब चार अर्ब १६ करोड ५४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । विनिमय दरमा भएको परिवर्तनले नेपाललाई एक खर्ब १५ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ नोक्सान भएको छ । प्राप्ति, भुक्तानी र विनिमय दरबाट भएको नाफा–नोक्सानसमेत हिसाब गर्दा साउनदेखि चैतसम्म नेपालको सार्वजनिक ऋण दुई खर्ब ५९ अर्ब ७० करोड ९६ लाख रुपैयाँले बढेको देखिन्छ । प्राप्ति र भुक्तानीको हिसाबमा नेपालको ऋण दायित्व एक खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँले बढी हुनुपर्ने हो । तर, विदेशी विनिमय दरमा भएको घाटाका कारण ऋणभारसमेत दुई खर्ब ५९ अर्ब बढी देखियो ।

१७ दातासँग १० मुद्रामा ऋण
नेपालका विभिन्न १७ वटा निकायसँग १० वटा मुद्रामा वैदेशिक ऋण दायित्व बाँकी रहेको छ । सोमध्ये सबैभन्दा बढी एसडिआरमा ७२.६३ प्रतिशत र युसएडीमा १९.५३ प्रतिशत ऋण दात्यिव रहेको छ । त्यस्तै, जापानी ऐनमा ४.१ प्रतिशत, चिनियाँ युआनमा २.४२ प्रतिशत र रोमा ०.६५ प्रतिशत रहेको छ । यी मुद्राको विनिमय दरामा हुने परिवर्तनबाट वैदेशिक ऋण दायित्वमा पनि घटबढ हुने गरेको छ । त्यस्ता गठबढबाट भएको असरलाई विनिमय नाफा–घाटाका रूपमा लेखांकन गर्ने गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले हरेक आर्थिक वर्षको अन्तिम दिनको विदेशी मुद्राको भाउसँग वर्तमान मूल्यको तुलना गरेर हिसाब निकाल्ने गरेको छ । ‘ऋण प्राप्तिको सम्बन्धमा कारोबार मुद्रालाई प्राप्त भएको मिति (भ्यालु डेट)को विनिमय दर (खरिद दर)का आधारमा सम्झौता मुद्रा तथा नेपाली मुद्रामा परिवर्तन गरी लेखांकन र प्रतिवेदन गर्ने गरिएको छ,’ कार्यालयको प्रतिवेदनमा उल्लेख छ, ‘त्यस्तै, साँवा–ब्याज तथा अन्य रकम भुक्तानीका सम्बन्धमा सम्झौता मुद्रामा भुक्तानी गर्नुपर्ने रकमलाई भुक्तानी मिति (भ्यालु डेट)को विनियम दरका आधारमा कारोबार मुद्रामा भुक्तानी गरी सोही दिनको विनिमय दर (बिक्रीदर) अनुसार नेपाली मुद्रामा परिणत गरी लेखांकन र प्रतिवेदन तयार गर्ने गरिएको छ ।’

विदेशी मुद्राको भाउ बढ्दा ऋण दायित्वमा भार परेको छ : गोपीकृष्ण कोइराला, प्रमुख, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
डलर र एसडिआरको मूल्य बढ्दा चैत मासान्तसम्मको ऋण दायित्व एक खर्ब १५ अर्ब बढी देखिएको छ । यद्यपि, यो घाटा तत्कालै पूर्ति गरिहाल्नुपर्ने होइन । विदेशी ऋण अहिल्यै तिरिहाल्नुपरेको खण्डमा भने यस्तो घाटा हुने हो । भोलिका दिनमा विदेशी विनिमय दरमा हुन सक्ने परिवर्तनले ऋणभार थपघटसमेत हुन सक्छ । हामीले ऋण सम्झौता गर्दाको तुलनामा अहिलेको अवस्थालाई तुलना गर्दै आएका छौँ, यसले नाफा–घाटा देखाउँछ ।

See More On

सुझावित समाचार