मधुवन नगरपालिकाले लिएको परीक्षामा वडा अध्यक्षको छोरा उत्तीर्ण भएपछि विवाद

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

बर्दियाको मधुवन नगरपालिकाले लिएको नायब सुब्बाको परीक्षामा वडाध्यक्षको छोरा उत्तीर्ण भए पनि विवाद भएको छ। पालिकाले खुला प्रतिस्पर्धा लिएको नायब सुब्बाको परीक्षामा वडा ४ का अध्यक्षको छोरा सुजनकुमार चौधरी उत्तीर्ण भएपछि विवाद भएको हो। 

पालिकाले आधारभूत नगर अस्पतालमा करारमा नायब सुब्बा राख्ने भन्दै १ पुस २०८२ मा विज्ञापन गरेको थियो। पालिकाले २० चैत २०८२ मा करार सेवामा सहायक पदका लागि योग्य उम्मेदवार भनेर २० जनाको नामावली सार्वजनिक गरेको थियो । चुनावी आचारसंहिताले रोकिएको परीक्षा ९ वैशाख ०८३ मा हुने भन्दै पालिकाले ७ वैशाख २०८३ मा एक सूचना जारी गरेको थियो। 

नायब सुब्बाका लागि परीक्षा फारम भरेकामध्ये ११ जनाले मात्र परीक्षार्थी सहभागी भएका थिए । पालिकाले ९ वैशाखमा नै परीक्षा लिएर नतिजा सार्वजनिक गरेको थियो। नायब सुब्बाको परीक्षामा वडाध्यक्ष बलिराम चौधरीका छोरा सुजनकुमार चौधरी उत्तीर्ण भएपछि सामाजिक सञ्जालमा विरोध भएको छ। 

मधुवन नगरपालिकाका स्थानीय ऋषि काफ्लेले पालिकाले लिएको परीक्षामा नै शंकास्पद रहेको बताए। उनले भने, ‘पालिकाले लिएको नायब सुब्बाको परीक्षा हुनुभन्दा पहिला नै वडाध्यक्षको छोराको जागिर हुने हल्ला चलेको थियो भने पालिकाले यसअघि सञ्चालन गरेको परीक्षामा बहुवैकल्पिक वस्तुगत परीक्षामा प्राप्तांक सार्वजनिक हुने गरेको थिएन। तर, यसपटक भने परीक्षामा सहभागी भएका व्यक्तिहरूले बहुवैकल्पिक परीक्षाको नतिजा सार्वजनिक हुनुले पनि परीक्षामा मिलेमतो भएको हो भन्ने शंका गर्ने ठाउँ रहेको छ।’ 

मधुवन नगरपालिकामा नगर प्रमुख तेजबहादुर भाटले पालिकाभित्र सञ्चालन हुने परीक्षा सञ्चालनमा निष्पक्ष रूपमा गर्नका लागि कर्मचारी भन्ने गरेको बताए। उनले भने, ‘पालिकामा आवश्यक पर्ने जनशक्ति राख्दा परीक्षा लिएर राख्ने गरिएको छ। पालिकामा कर्मचारी राख्नका लागि मैले कहिले पनि दबाब दिने गरेको छैन। मैले कर्मचारीलाई पालिका आवश्यक पर्ने जनशक्ति निष्पक्ष रूपमा योग्य कर्मचारी राख्नुहोला भन्ने गरेको छु।’

मधुवन नगरपालिकाका वडा, ४ का वडाध्यक्ष बलिराम चौधरीले पालिकाले गरेको विज्ञापन आफ्नो छोराले पनि परीक्षा फारम भरेर परीक्षा दिएको बताए। उनले भने, ‘म वडाध्यक्ष भन्दैमा पालिकाले खोलेको विज्ञापन मेरो छोराले परीक्षा फारम भर्नुहुँदैन भन्ने कतै छैन। पालिकाले नायब सुब्बामा खुला प्रतिस्पर्धाबाट गरेको परीक्षामा छोरा पास भएको हो। मैले छोरालाई पास गराउनु भनेर कहीँकतै भनेको छैन।’   

पालिकाका नगरप्रमुख भाट र वडा, ४ का वडाध्यक्ष चौधरी दुवैजना नेपाली कांग्रेसका नेता हुन्।

सुझावित समाचार