गण्डकी सरकारको निर्णय : पाँच करोडको आपतकालीन कोषदेखि गम्भीर प्रकृतिका बिरामीहरूलाई आर्थिक सहायतासम्म

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच करोडको आपतकालीन कोष निर्माण गर्नेदेखि गम्भीर प्रकृतिका बिरामीहरूलाई आर्थिक सहायता गर्नेलगायतका विभिन्न निर्णय गरेको छ। गण्डकी सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले बुधबारको बैठकका निर्णय बिहीबार सार्वजनिक गरेका हुन्।

प्रदेश सरकारले आपतकालीन स्वास्थ्य सेवा तथा संक्रमण रोग व्यवस्थापन कार्यविधि, २०८३ स्वीकृत गर्दै नयाँ सरुवा संक्रामक रोग महामारीको रूपमा आएमा खर्च गर्ने गरी आपतकालीन कोष निर्माण गरेको उनले जानकारी दिए। उनका अनुसार ५३ प्रकारका छिटो संक्रमण हुने रोग नियन्त्रण र उपचारका लागि कोषको रकम प्रयोग गरिनेछ।

बैठकले गण्डकी प्रदेश निजामती सेवा तथा स्थानीय सेवा कर्मचारीको योगदानमा आधारित निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्ने विधेयकको अवधारणा स्वीकृत गरेको छ। कर्मचारीहरूको भविष्य सुरक्षित गर्न योगदानमा आधारित निवृत्तिभरणसँगै अवकाशपछिको पेन्सन तथा सुविधा व्यवस्थित गर्ने ऐन ल्याउन लागेको जानकारी दिए।

१९६ जना गम्भीर प्रकृतिका बिरामीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ। क्यान्सर, मुटुसहित अन्य गम्भीर रोगका १९७ बिरामीलाई एक करोड ७५ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय बैठकले गरेको शेरचनले जानकारी दिए।

बैठकले गण्डकी प्रदेश सचिवालयका लागि चारवटा सवारीसाधन खरिदका लागि चार करोड निकासा दिने निर्णय गरेको छ। शेरचनका अनुसार खरिद गर्ने साधनमा विद्युतीयलाई प्राथमिकता दिइनेछ।

सम्पत्ति तथा जिन्सी मालसामान लिलाम तथा मिनाहा गर्ने निर्णयसमेत बैठकले गरेको छ। सरकारी सवारीसाधन र जिन्सी सामान व्यवस्थापनका लागि प्रयोग गर्न नमिल्ने सामग्रीहरू नष्ट गर्ने र बाँकीलाई लिलामी गर्ने निर्णय गर्दै बैठकले यसका लागि हाल कार्यान्वयनमा रहेको कार्यविधि संशोधन गरिएको जानकारी दिए। बैठकले बजेट कार्यक्रममा कार्यान्वयन कार्यविधि संशोधन, २०८२ समेत पारित गरेको छ।

सुझावित समाचार