महान्यायाधिवक्ता नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटहरू बिहीबार सुनुवाइ हुँदै छन् । बुधबार दायर तीनवटा रिटमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको हो ।
सरकारले गत २२ चैतमा कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको थियो । अधिवक्ता माधवकुमार बस्नेत, अधिवक्ता शिराज बरालसमेत आठजना र अधिवक्ता दीपकराज जोशीसमेत पाँचजनाले छुट्टाछुट्टै दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।
सर्वोच्चका न्यायाधीशसरह हुनुपर्ने योग्यता कँडेलमा नभएको दाबी तीनै रिटमा गरिएको छ । तीनवटै रिटमा महान्यायाधिवक्ता कँडेलका साथै प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्रीको कार्यालय, कानुन मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।
यसअघि रिट दर्ता गर्न लैजाँदा अदालतले दरपीठ गरिदिएको थियो । इजलासबाट दर्ता हुने आदेश भएपछि बल्ल सर्वोच्चमा दर्ता भएको हो । अधिवक्ता बस्नेतले कँडेलसँग १५ वर्ष वकालत गरेको योग्यता नभएको दाबी गरेका छन् ।