इंग्लिस प्रिमियर लिगमा १० वर्षअघि लेस्टर सिटीको छुट्टै पहिचान थियो । १० वर्षअघि लेस्टर प्रिमियर लिग विजेता थियो । त्यो पनि कुनै पनि खेलमा हारको सामना नगरी उसले इंग्लिस प्रिमियर लिग उपाधि इतिहासमै पहिलोपटक उचाल्दा विश्व फुटबलका विश्लेषकहरू चकित परेका थिए । उत्कृष्ट प्रदर्शन जारी राख्दै लेस्टरले सन् २०१७ को युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनायो । च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्दा लेस्टर भाग्यले नभएर मिहिनेतका कारण प्रिमियर लिगमा सफलता चुमेको विज्ञहरूले बताए ।
सन् २०२१ मा उसले एफए कप जित्यो । तर, एफए कपपछि लेस्टर ओरालो लागेको छ । अब फर्केर पनि पुरानै स्थितिमा पुग्ने देखिँदैन । यसका लागि धेरै मिहिनेत र लगानी हुनुपर्छ । लेस्टरको चर्चा यसरी किन भइरहेको छ ? प्रश्न उठ्नु स्वाभाविक हो । दश वर्षअघिको प्रिमियर लिग र पाँच वर्षअघि एफए कपजस्तो प्रतिष्ठित उपाधि जितेको उही लेस्टर अब इंग्लिस प्रिमियर लिगको तेस्रो डिभिजनमा झर्ने पक्का भइसकेको छ ।
सन् २०१६ को सिजनमा फुटबल जगत्लाई जसरी लेस्टरले स्तब्ध पार्यो त्यसरी नै उसले अब अप्रत्याशित नतिजा व्यहोर्दा सन् २०२६/२७ सिजनमा तेस्रो डिभिजन (लिग वन)मा खेल्ने भएको छ । मंगलबार राति हल सिटीसँग २–२ को बराबरी खेलेसँगै लेस्टर रेलिगेसनमा पर्ने पक्का भएको हो । अब लेस्टरले ब्रोम्लीजस्तो सामान्य क्लबसँग भिड्नेछ । जसले आफ्नो १३४ वर्षको इतिहासमा १३२ वर्ष तल्लोस्तरको (नन–लिग) फुटबल मात्र खेलेको छ ।
गर्विलो इतिहास बोकेको लेस्टरको यो दुर्दशा हुनुका पछाडि एउटै मात्र कारण थियो– क्लबका प्रभावशाली मालिक भिचाई श्रीवद्धनप्रभाको हेलिकोप्टर दुर्घटनामा भएको निधन । भिचाईको निधन क्लबका लागि अपूरणीय क्षति बन्यो । उनका छोराले क्लबको जिम्मेवारी सम्हाले पनि सही दिशातर्फ लान सकेनन् । लेस्टरले तीन वर्षभित्र सातजना प्रशिक्षक फेरिसकेको छ । यसले पनि क्लबको खेल्ने शैली र पहिचान नै हरायो ।
सात करोड १० लाख पाउन्ड घाटामा
‘बी’ डिभिजनमा झरेपछि लेस्टरले आर्थिक संकट सामना गरेको छ । एक किसिमले लेस्टर अहिले इतिहासकै गम्भीर आर्थिक संकटमा छ । सन् २०२४/२५ को सिजनमा मात्रै क्लबले सात करोड १० लाख पाउन्डभन्दा बढीको घाटा व्यहोरेको थियो । आर्थिक नियम उल्लंघन गरेका कारण यसै सिजन क्लबको ६ अंकसमेत काटिएको थियो । त्यसमाथि पनि धेरै पारिश्रमिक लिने खेलाडी र बैंकको ऋणले क्लबलाई थप आर्थिक दबाबमा पारेको बिबिसीले जनाएको छ ।
लेस्टरको यो अवस्था देखेर समर्थक पनि मर्माहत छन् । केही दिनअघि पोर्ट्समाउथसँगको हारपछि इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी ह्यारी विंक्सले समर्थकसँग भनाभन गरेका थिए । ‘हामीले असम्भव सपना देख्यौँ र पूरा पनि गर्यौँ,’ लेस्टरका समर्थकले भने, ‘तर, अहिलेको यो पतन एकदमै पीडादायी छ ।’ समर्थकले लेस्टरको गर्विलो र खराब अवस्थाको साक्षी बन्दा सुख र दुःख सामना गरेको बताए ।
नियमित प्रशिक्षक परिवर्तनको प्रभाव
सन् २०२२ मा प्रिमियर लिगमा आठौँ स्थानमा पुगेपछि र कन्फरेन्स लिगको सेमिफाइनलपछि प्रशिक्षक ब्रेन्डन रोजर्सले क्लबमा केही परिवर्तन गर्नुपर्ने चेतावनी दिएका थिए । कोभिड– १९ ले भिचाईको स्वामित्वमा रहेको किङ पावरमा ठुलो असर पारेको थियो । सन् २०२२/२३ सिजनमा यसको अवसर देखियो । लेस्टरले सुरुका आठ खेलसम्म जित निकाल्न सकेन । प्रशिक्षक रोजर्सले लेस्टरले ४० अंक पुर्याउने लक्ष्यमा ध्यान दिनुपर्ने बताए । लेस्टरले २०२० र २०२१ मा लगातार दुई सिजन अन्तिम दिन च्याम्पियन्स लिगमा स्थान गुमाएको थियो ।
टोलीमा जेमी वार्डी, जेम्स म्याडिसन र युरी टिलेमान्सजस्ता अन्तर्राष्ट्रिय खेलाडी थिए । तर, २०२३ अप्रिलमा क्लब तल्लो तीनमा हुँदा रोजर्सलाई बर्खास्त गरियो । त्यसपछि आएका एस्टन भिल्ला र नर्विचका पूर्वप्रशिक्षक डिन स्मिथले पनि क्लबलाई बचाउन सकेनन् । रोजर्सपछि तीन वर्षमा लेस्टरले सात प्रशिक्षक परिवर्तन गर्यो । डिन स्मिथपछि एन्जो मारेस्का आएका थिए । स्टिभ कुपर अनि रुड भान निस्टेलरोयले लेस्टर सम्हाले पनि टोलीलाई माथिल्लो लेभलमा पुर्याउन सकेनन् । लेस्टरका पूर्वडिफेन्डर ग्यारी रोवेट नियुक्तिपछि प्रदर्शन झन् खस्कियो ।