प्रदर्शनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न कांग्रेसको माग

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेतालाई तत्काल रिहा गर्न माग गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेसले असहमति र विरोधलाई दमन नगरी संवाद र सहकार्यबाट सम्बोधन गर्नुपर्ने प्रस्ट पारेको छ।

‘लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकारहरू हुन्। यस्ता अधिकारहरूको सम्मान र संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व हो,’ प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अधिकार प्रयोगका क्रममा नागरिकलाई पक्राउ गर्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न खडा गर्ने कांग्रेसले जनाएको छ। कांग्रेसले भनेको छ, ‘नेपाली कांग्रेस स्पष्ट रूपमा विश्वास गर्दछ कि असहमति र विरोध लोकतन्त्रको अभिन्न अंग हुन्, जसलाई दमन गर्ने होइन, संवाद र सहकार्यका माध्यमबाट सम्बोधन गरिनुपर्छ।’

सुझावित समाचार