डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै सोमबार चलचित्रको ‘प्याकअप’ गरिएको हो।

३५ दिनको छायांकन तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट क्यामेरा रोल गरेको निर्माण टोलीले ३७ दिन लगाएर सुटिङ पूरा गरेको छ। चलचित्रको सम्पूर्ण छायांकन पोखरावरपरका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ।

सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराललाई दर्शकले अहिलेसम्मकै फरक र नदेखेको अवतारमा देख्न पाउने बताइएको छ। यद्यपि, निर्देशक बरालले उनको चरित्रको बारेमा भने खुलाउन चाहेनन्।

चलचित्रमा विजय बरालका साथै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सविना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र वासु खनाललगायतको बलियो अभिनय लाइनअप रहेको छ। 

मोती कार्की कार्यकारी निर्माता रहेको यस चलचित्रलाई निशाल पौडेलले खिचेका हुन्। चलचित्रमा चानस पुनमगरको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, अंकितबाबु अधिकारीको संगीत र युवराज काफ्लेको शब्द रचना रहेको छ।

रोयल भीमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले पब्लिसिटी डिजाइन गर्ने यो चलचित्रलाई काठमाडौं उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछन्। चलचित्रको रिलिज यस वर्षको बडादसैँभन्दा अगावै हुने निर्देशक बरालले बताए।

सुझावित समाचार