अधिकतम र न्यूनतम तापक्रम उकालो लागेसँगै पश्चिम तराईमा तातो हावाको लहर चल्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारदेखि पश्चिम तराईबाट तातो हावा चल्न थालेकोमा मध्य तराईमा पनि विस्तार भएको छ । उपत्यकामा पनि तापक्रम बढेको छ । विभागले अझै केही दिन तराईमा गर्मी कायमै रहने जनाएको छ ।
विभागले उच्च तापक्रमका कारण थकान, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, डिहाइड्रेसन, हिट स्ट्रोकजस्ता स्वास्थ्य समस्या देखिन सक्ने जनाएको छ । विशेष गरी बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू बढी जोखिममा रहने विभागको बुलेटिनमा उल्लेख छ ।
विभागले अत्यधिक गर्मीका वेला दिउँसोको समयमा सकेसम्म घरभित्रै बस्न, पर्याप्त पानी तथा झोल पदार्थ सेवन गर्न, हल्का र खुला कपडा लगाउन तथा घाममा लामो समयसम्म नबस्न आग्रह गरेको छ । साथै, बाहिर निस्कँदा छाता, टोपी वा कपडाले टाउको ढाक्न र स्वास्थ्यमा समस्या देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न विभागको सुझाव छ ।