नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बिमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट पाइने योजना सार्वजनिक गरेको छ । कम्पनीले २५औँ वार्षिकोत्सवका अवसरमा व्यतीत बिमालेख पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार अहिले आर्थिक कठिनाइका कारण धेरै बिमालेख व्यतीत भइरहेका छन् । ती बिमालेख सहज रूपमा नवीकरण गरी पुनः सक्रिय गरी बिमितको आर्थिक सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ । यसैलाई मध्यनजर गर्दै कम्पनीले ७ वैशाखदेखि ५ जेठसम्म व्यतीत बिमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको हो ।
कम्पनीले रजत जयन्तीको अवसरमा बिमितका लागि पहिलोपटक यति ठुलो विलम्ब शुल्क छुट योजना ल्याइएको जनाएको छ । एक महिनासम्म चल्ने योजनामा बिमालेख व्यतीत भएका बिमितले विलम्ब शुल्क छुटको लाभ लिन सक्नेछन् । कम्पनीले ग्राहकलाई यो अवसरको सदुपयोग गर्दै निरन्तर सुरक्षा सुनिश्चित गर्न अनुरोधसमेत गरेको छ ।