त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरेलाई ३ प्रश्न

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

यतिखेर वाम एकताको सम्भावना कति देखिँदै छ ?
एमाले र तत्कालीन माओवादी अर्थात् अहिलेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिचको एकता पहिल्यै ‘टेस्टेड’ भइसकेको विषय हो । एकपटक टेस्टेड भइसकेको विषय इतिहासमा दोहोरिँदैन । २१ फागुनको निर्वाचन परिणामपछि ०७४ मा फर्किंदा दुवै पार्टीका सीमित नेताका स्वार्थ पूरा त होला । एमालेलाई दोस्रो ठुलो दल बन्नु छ र प्रचण्डलाई प्रमुख प्रतिपक्षी दलको नेता बन्नु छ । तर, रास्वपाजस्तो ‘मास बेस्ड’ पार्टी जबर्जस्त उदाएको र पुराना ‘क्याडर बेस्ड’ पार्टीहरू धराशायी भएको अहिलेको अवस्थामा वाम एकता भइहाले पनि त्यसले सोचेजस्तो परिणाम दिँदैन । यसले तत्काल संसद्भित्रको अंकगणितमा सामान्य फेरबदल ल्याए पनि कुनै गुणात्मक परिणाम दिन सक्दैन । 

यस्तो एकता भइहालेमा त्यसबाट दलमा रूपान्तरण र नेतृत्वमा पुस्तान्तरणको सम्भावना कति देख्नुहुन्छ ?
साँच्चै वाम एकता भयो भने दलमा रूपान्तरण र नेतृत्वमा पुस्तान्तरणको सम्भावना झनै घटेर जानेछ । यसले पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको सम्भावनामा डरलाग्दो पर्खाल निर्माण गर्नेछ । नयाँ विचार, नयाँ सोच, नयाँ कार्यनीतिका साथ महाधिवेशनको वैधानिक बाटोबाट आएको भए आशा गर्न सकिन्थ्यो । तर, यसरी दुई नेताको स्वार्थ मिलेकै भरमा एकता भयो भने त्यसले ६३ प्रतिशतको जनमतबाट २४ प्रतिशतमा झरेको कम्युनिस्ट आन्दोलनलाई थप क्षयीकरणको दिशामा धकेल्नेछ ।

फुट्ने, जुट्ने, फुट्ने र फेरि जुट्ने वामपन्थी रोगको उपचार कहिले होला ? 
कम्युनिस्ट आन्दोलनको इतिहासमा यस्तो रोगको कुनै उपचार सम्भव देखिन्न । पुष्पलालको नेतृत्वमा गठन भएयता सबैभन्दा बढी टुक्रिएको पार्टी नै कम्युनिस्ट पार्टी हो । ०७४ मा पनि ‘अढाई वर्षपछि मलाई किन छाडेनौ’ भन्ने विवादमा पार्टी छिन्नभिन्न भएको हो । अहिले केही नेता मिले पनि सबै मिल्दैनन्, बाँकीले अर्को पार्टी बनाउँछन् । त्यसैले, यो टालटुले प्रयास हो । यसले वाम राजनीतिलाई थप पतनको दिशामा धकेल्छ । 

सुझावित समाचार