अधिकतम र न्यूनतम तापक्रम उकालो लागेसँगै पश्चिम तराईमा तातो हावाको लहर चल्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारदेखि पश्चिम तराईबाट तातो हावा चल्न थालेकोमा मध्य तराईमा पनि विस्तार भएको छ । उपत्यकामा पनि तापक्रम बढेको छ । विभागले अझै केही दिन तराईमा गर्मी कायमै रहने जनाएको छ ।
मंगलबार सबैभन्दा बढी अधिकतम तापक्रम भैरहवामा ४२ डिग्री सेल्सियस मापन भएको छ । रुपन्देहीको भगवानपुरमा ४०.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । त्यसबाहेक सिमरामा ४०.३, नेपालगन्जमा ३९.३ र धनगढीमा ३८.८ डिग्री सेल्सियस मापन भएको छ ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा ६ वैशाखदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र सोभन्दा बढी मापन गरिएको छ । साथै, मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा ३८ डिग्री सेल्सियसआसपास मापन गरिएको छ ।
यसबाहेक मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनीका तराई तथा उपत्यका र खोँचमा पनि तापक्रम बढ्ने अनुमान छ । बुलेटिन जारी गर्दै विज्ञान विभागले अझै केही दिन तराईमा गर्मी कायमै रहने जनाएको छ । सुदूरपश्चिम र लुम्बिनीका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी रहेको विभागको भनाइ छ । यस्तै, गण्डकी, बागमती र मधेश तराईका केही स्थानमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मीको सम्भावना रहेको बताएको छ ।
यसैबिच मौसमविद् रोजन लामिछानेले दुई–तीन दिन गर्मी नै रहने बताए । ‘वर्षा गराउने प्रणाली सक्रिय छैन । माथिल्लो वायुमण्डलमा उच्चचापीय प्रणाली पनि विकास भएकाले वर्षाका गतिविधि हुन नसक्दा तापक्रम बढेको छ । विशेष गरी पश्चिम तराईमा तातो हावाको लहर चलिरहेको छ । पूर्वी तराईमा हिजोअस्तिभन्दा तापक्रम बढेको छ,’ उनले भने, ‘नक्सामा सुन्तला रंगको संकेत चिह्न रहेका कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मध्यम तातो लहर छ । त्यस्तै, नक्सामा पहेँलो रंग चिह्न रहेका जिल्लामा मधेशको पूरै भूभाग, बागमती, गण्डकीको तराई र पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमको पहाडी क्षेत्र, खोँच तथा उपत्यकामा पनि तापक्रम बढिरहेको छ । दुई–तीन दिन गर्मी नै रहने देखिन्छ ।’
अत्यधिक गर्मीले के हुन सक्छ, के गर्ने ?
विभागले उच्च तापक्रमका कारण थकान, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, डिहाइड्रेसन, हिट स्ट्रोकजस्ता स्वास्थ्य समस्या देखिन सक्ने जनाएको छ । विशेष गरी बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू बढी जोखिममा रहने विभागको बुलेटिनमा उल्लेख छ । विभागले अत्यधिक गर्मीका वेला दिउँसोको समयमा सकेसम्म घरभित्रै बस्न, पर्याप्त पानी तथा झोल पदार्थ सेवन गर्न, हल्का र खुला कपडा लगाउन तथा घाममा लामो समयसम्म नबस्न आग्रह गरेको छ । साथै, बाहिर निस्कँदा छाता, टोपी वा कपडाले टाउको ढाक्न र स्वास्थ्यमा समस्या देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न विभागको सुझाव छ ।
नेपालगन्जको गर्मी ४० डिग्रीभन्दा माथि
गर्मी बढेसँगै नेपालगन्जको जनजीवन प्रभावित भएको छ । दिउँसो सडकमा हिँड्डुल गर्नेको संख्या कम देखिएको छ भने चिसो पेय पदार्थसँगै उखु र फलफूलको जुसको खपत बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जका अनुसार गत आइतबारदेखि गर्मी बढेको छ । आइतबार अधिकतम तापक्रम ४० दशमलव ३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन भएकोमा सोमबार अधिकतम ४० दशमलव ३० र न्यूनतम २१ दशमलव ५ डिग्री सेल्सियस मापन छ ।
मंगलबार अधिकतम तापक्रम केही घटे पनि अत्यधिक गर्मी महसुस भएको थियो । मंगलबार नेपालगन्जको अधिकतम तापक्रम ३९ दशमलव ३० डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस मापन भएको विभागको नेपालगन्ज फिल्ड कार्यालयकी मौसम विज्ञान सहायक मीना सिवाकोटीले बताइन् ।
पश्चिमदेखि पूर्वसम्मकै तराई मधेशमा गर्मी बढेको छ, यो अवस्था कम्तीमा दुई–तीन दिन रहन्छ : रोजन लामिछाने, मौसमविद्
वर्षा गराउने प्रणाली सक्रिय छैन । माथिल्लो वायुमण्डलमा उच्चचापीय प्रणाली पनि विकास भएकाले वर्षाका गतिविधि हुन नसक्दा तापक्रम बढेको छ । विशेषगरी पश्चिम तराईमा तातो हावाको लहर चलिरहेको छ । पूर्वी तराईमा हिजोअस्तिभन्दा तापक्रम बढेको छ । नक्सामा सुन्तला रङको संकेत चिह्न रहेका कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मध्यम तातो लहर छ । त्यस्तै, नक्सामा पहेँलो रङको संकेत रहेका जिल्लामा मधेशको पूरै भूभाग, बागमती, गण्डकीको तराई र पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमको पहाडी क्षेत्र, खोँच तथा उपत्यकामा पनि तापक्रम बढिरहेको छ । दुई–तीन दिन गर्मी नै रहने देखिन्छ ।