‘म्हेर्च्याकुमा’ परम्परा हराउँदै गएकोमा ह्योल्मो समुदाय चिन्तित

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण
  • ०७२ मा भूकम्पले हेलम्बु क्षेत्रका हजारौँ परम्परागत म्हेर्च्याकुमा ढलेपछि पुनर्निर्माण गरिँदा ढुंगा, इँटा, रड, सिमेन्ट, बालुवाको प्रयोग

हेलम्बुमा एक सयभन्दा बढी गुम्बा छ । गुम्बैगुम्बाको गाउँ मानिने हेलम्बु ह्योल्मो समुदायको प्रमुख वासस्थान हो । जसको आफ्नै भाषा, संस्कृति, धर्म, वेषभूषा र वास्तुकलागत पहिचान छ । भारतको अरुणाञ्चल, सिक्किम, नेपालको हेलम्बु, लाङटाङ, रोल्वालिङ, चुम्नुब्री र संखुवासभालाई गुरु रिम्पोछेको गुप्त क्षेत्र मानिन्छ । गुरु रिम्पोछेले बहुमूल्य निधि लुकाएको विश्वास गरिने गुप्तभूमि हेलम्बु धार्मिक पर्यटनमा पनि परिचित छ । 

मौलिक संरचना, प्राचीन परम्परा र धार्मिक हिसाबले सजिसजाउ म्हेर्च्याकुमा ह्योल्मो समुदायको घर हो । विशेषगरी पूजाकोठा र भान्सामा ह्योल्मो समुदायको प्राचीन परम्परा र कलाले सजिएको हुन्छ । माथिल्लो कोठाको एक कुनाबाट अर्को कुनासम्म मिलाएर राखिने बुट्टा कुँदेर बनाइएको काठको ठुल्ठुला र्‍याकहरू, छ्येटी बक्सी (पूजा सामग्री राखिने दराज), कप र थालहरू राख्ने कायुल बक्सी, नेसा भङा भाँडाकुँडा राखिने दराज र अन्न राख्न बनाइएका क्याङजाङ बक्सीले घरको शोभा बढाएको हुन्छ । म्हेर्च्याकुमा घर अत्यन्तै सुन्दर र सफा हुन्छन् । 

निमाग्याल्जेन शेर्पा,अध्यक्ष, हेलम्बु गाउँपालिका
ह्योल्मो समुदाय प्राचीन संस्कृति र कलाले धनी छ । तर, पछिल्लो समय परम्परागत वास्तुकलाले सजिएका घर लोप हुँदै गएको छ । यसले हाम्रो परम्परा फर्काउने चिन्ता थपिएको छ । ह्योल्मो समुदाय सुख र भौतिक हिसाबले सम्पन्न भए तापनि सांस्कृतिक निधि हराउँदै जानु चिन्ताको विषय हो ।

०७२ को विनाशकारी भूकम्पले हेलम्बु क्षेत्रमा रहेका परम्परागत हजारौँ म्हेर्च्याकुमा ढले । परम्परागत घर ढुंगामाटो र काठले बनेका थिए । ह्योल्मो खेबा (विद्वान्) बाट डिजाइन गरिएका वास्तुकलाले ती घरहरू अरूभन्दा पृथक् थिए । भूकम्पपछि पुनर्निर्माण गरिएका घर ढुंगा, इँटा, रड, सिमेन्ट, बालुवा र गिटीले बनेका छन् । आधुनिक घर त बन्यो, तर ह्योल्मो समुदायको पहिचान लोप हुँदै गएको छ । यसप्रति उनीहरू चिन्तित देखिएका छन् । 

हेलम्बु क्षेत्र धार्मिक पर्यटन, सांस्कृतिक पहिचान र प्राचीन वास्तुकलामा प्रख्यात छ । परम्परागत घर म्हेर्च्याकुमा यो समुदायको जीवन हो । जीवनका सबै आयाम यही घरभित्र सजिएको हुन्छ । लामो समयदेखि ह्योल्मो संस्कृति र परम्पराको खोज गर्दै आएका अनुसन्धानदाता टासी दोङ्बा ह्योल्मो भूकम्पले खोसेको जीवनको प्राचीन खुसी फर्काउने अभियानमा लागेका छन् । ढलेका हजारौँ घर आधुनिक रूपमा ठडिए पनि ह्योल्मो समुदायको वास्तविक जीवन संस्कृति गुमेकोमा उनी निकै दुःखित छन् । 

परम्परागत शैलीका धाम्बे, फर्को, सहाङ, बिसौलीजस्ता सामग्री लोप भएका छन् । यद्यपि, ह्योल्मो फाउन्डेसनको अभियानले भूकम्पप्रतिरोधी, सुरक्षित र व्यवस्थित आवास निर्माणमा ह्योल्मो परम्परागत म्हेर्च्याकुमा संरचनाको नक्सालाई तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृति दिएकाले एकादुई एकीकृत बस्तीमा भने मौलिकता बचेको छ । 

परम्परागत घर विविध फर्निचर, वास्तुकला, चित्रकला, मूर्ति र विशेष पूजा सामग्रीले सजिएको हुन्थ्यो । बौद्ध धर्मसँग सम्बन्धित अष्टमंगलका प्रतीकहरू जस्तै श्रीवत्स (अनन्त गाँठो) प्रज्ञा र करुणाको मिलन, पद्म (कमल फूल) –पवित्रता र स्पष्टताको प्रतीक, ध्वज (झन्डा) बुद्धको विजय, कलश–समृद्धि र प्रचुरता, मत्स्य जोडी (सुनौलो माछा) निडरता र आनन्द, धर्मचक्र–बुद्धको शिक्षा, शंख–बुद्धको आवाज र छत्र (छाता) संरक्षणको प्रतीक वास्तुकला र मूर्तिमा कुँदिएका हुन्छन् । विशेष बुट्टा भएको नाम्ग्याल गोसुम झ्याल र ढोका, पूजा छ्येटी, परम्परागत भाँडा राख्ने काठ संरचना र सामुदायिक सभास्थल म्हेर्च्याकुमा घरको विशेषता हुन् । 

प्राचीन संस्कृति र कलाले धनी ह्योल्मो समुदायका परम्परागत वास्तुकलाले सजिएका घर लोप हुँदै गएकोमा हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा (ह्योल्मो) चिन्तित छन् । ‘हाम्रो परम्परा फर्काउने चिन्ता थपिएको छ,’ उनले भने, ‘ह्योल्मो समुदाय सुख र भौतिक हिसाबले सम्पन्न भए तापनि सांस्कृतिक निधि हराउँदै जानु चिन्ताको विषय हो ।’ म्हेर्च्याकुमा, सांस्कृतिक नृत्य, वास्तुकला र हिमाल ह्योल्मो समुदायको विशेष पहिचान भएको र यही हेर्न विदेशी पर्यटक हेलम्बु पुग्ने उनले सुनाए । ह्योल्मो क्षेत्रको प्राचीन वास्तुकला र कालिगढले भारत, भुटान र अरू मुलुकमा रहेका बौद्ध गुम्बामा मूर्ति र चित्रकला स्थापना गरेका छन् ।

हेलम्बु गाउँपालिकाको सेर्माथाङ, मेलम्चीघ्याङ, तार्केघ्याङ, कुटुङसाङ, तार्तुङलगायत गाउँमा बसोवास गर्ने ह्योल्मोवासीले आजकाल आफ्नो प्राचीन संस्कृतिको संरक्षण गर्न विभिन्न सांस्कृतिक अभियान सञ्चालन गरिरहेका छन् । ह्योल्मो परम्परागत म्हेर्च्याकुमा घरनिर्माण तथा जीवित सांस्कृतिक केन्द्र स्थापना कार्यक्रम र ह्योल्मो आदिवासी वास्तुकला, संस्कृति, दिगो जीविकोपार्जनको पुनर्जागरण अभियान सञ्चालनमा छन् । आफ्नो संस्कृति झल्काउने परम्परागत घरको मोडेल निर्माण गरेर देशको विभिन्न जिल्लामा छरिएर रहेका ह्योल्मो समुदायलाई भ्रमण, अध्ययन र उपलब्ध वास्तुकलाको सिप सिक्न म्हेर्च्याकुमा पुनर्स्थापना गर्ने अभियान सञ्चालन भएकोमा हेलम्बुवासी उत्साही भएका छन् । 

सुझावित समाचार