स्ट्राइकर रेखा पौडेलको ह्याट्रिकको सहयोगमा सोमबार नेपाल पुलिस क्लबको महिला टोली झापाको भद्रपुरमा भइरहेको पहिलो चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युथ क्लबलाई ६–० को फराकिलोअन्तरले हराएको छ । जितसँगै पुलिसले क्वार्टरफाइनलको यात्रा तय गरेको छ । मेची रंगशालामा पुलिसको जितमा रेखाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । पुलिसका लागि स्ट्राइकर मीना देउवाले दुई र अनुष्का शेर्पाले एक गोल गरेका थिए । अब पुलिसले सेमिफाइनल प्रवेशको खेलमा भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको सुरुदेखि आयोजकमाथि पुलिसले दबाबमा राख्यो । पहिलो मिनेटमै पुलिसले १–० को अग्रता लियो । सविना चौधरीले दिएको लामो पासमा डिबक्समा अनमार्क रहेकी रेखाले सहजै गोल गरिन् । खेलको २१औँ मिनेटमा पुलिसकी मीनाले आयोजकविरुद्ध दोस्रो गोल गरिन् । डिबक्सनजिकैबाट रेखाले गरेको शक्तिशाली प्रहार विपक्षी गोलरक्षक सबनम राईले नियन्त्रणमा लिन सकिनन् । गोलरक्षकबाट फुत्किएको बललाई मीनाले गोल गरेकी हुन् । यसैगरी, खेलको ३८औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गर्दा पुलिस ४–० ले अघि रह्यो ।
उनले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै उत्कृष्ट फिनिसिङ गरेकी हुन् । पुलिसले पहिलो हाफमा आयोजकविरुद्ध चार गोलको अग्रता बनाएको थियो । पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्यो । दोस्रो हाफको सुरुमै डिफेन्समा सम्हालिए पनि चन्द्रगढी युथले लय गुमाउन पुग्यो । खेलको ७२औँ मिनेटमा पुलिसकी वैकल्पिक खेलाडी अनुस्काले ५–० का लागि गोल गरिन् । रेखाले मैदानको मध्यभागबाट दिएको बललाई अघि बढाउँदै अनुष्कारले गोल गरिन् ।
मध्यान्तरपछि सम्हालिएको आयोजक
खेलको ७७औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन् । उनको ह्याट्रिक प्रथम चन्द्रगढी गोल्डकपको पहिलो ह्याट्रिक हो । मीना देउवाले दिएको लामो पासमा डिबक्समा अनमार्क रहेकी रेखाले हेडिङ गोल गरिन् । पुलिससँग निरीह देखिएको आयोजकले फितलो प्रदर्शन गर्यो । आयोजक टोलीले पुलिसको बलियो डिफेन्स लाइनलाई तोड्न सकेन । पुलिसको निरन्तरको आक्रामक खेलका कारण आयोजक डिफेन्स लाइनमै व्यस्त रह्यो ।
पहिलो हाफको अतिरिक्त समयमा पुलिसकी गोलरक्षक उषा नाथले गल्ती गर्दा आयोजककी रेखा विष्टले खाली पोस्टमा गोल गर्न सकिनन् । पुलिस गत कात्तिकमा झापाको दुधेमा सम्पन्न प्रथम झापा महिला गोल्डकपको विजेता हो । नेपाली महिला फुटबलमा एकछत्र राज गर्दै आएको एपिएफलाई फाइनलमा पराजय गर्दै पुलिसले उपाधि हात पारेको थियो । पुलिसले झापामै लामो समयको उपाधि खडेरीलाई चिर्न सफल भएको थियो ।
रेखा पौडेल, मीना देउवा, पूजा रानाजस्ता स्टार खेलाडीसहित मैदानमा उत्रिएको पुलिसलाई चन्द्रगढी गोल्डकपको पनि उपाधि दाबेदारको रूपमा हेरिएको छ । प्रतियोगिता मंगलबार एपिएफ र ओखलढुंगाको पद्मा स्पोर्टिङ क्लबबिच खेल आयोजकले जनाएको छ ।