बुद्धभूमिका ७१६ परिवारले पाए लालपुर्जा

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० मा आयोजित कार्यक्रममा ७१६ जना गाउँ ब्लकपीडितलाई एकैपटक लालपुर्जा वितरण गरिएको छ। कार्यक्रममा मेयर केशवकुमार श्रेष्ठ, उपमेयर मीराकुमारी थारू, वडाध्यक्षहरूलगायतको उपस्थितिमा जग्गाधनी प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

योसँगै दशकौँदेखि लालपुर्जाविहीन रहेका जिल्लाका आठ हजार ३९६ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन्। २०२१ सालमा भएको नापीका क्रममा गाउँ ब्लकका रूपमा छाडिएका जग्गाका कारण यी परिवारहरू लामो समयसम्म स्वामित्व अधिकारबाट वञ्चित थिए।

नापी कार्यालय कपिलवस्तुका प्रमुख जनकबहादुर भण्डारीका अनुसार जिल्लाभर साबिक ८१ गाविसका गाउँब्लक क्षेत्रको नाप–नक्सा कार्य सम्पन्न भएसँगै पछिल्ला दुई वर्षभित्रै ती परिवारलाई लालपुर्जा वितरण गरिएको हो। ०६०, ०६५ र ०७२ सालमा पटकपटक नापी भए पनि अहिले मात्र व्यवस्थित रूपमा वितरण कार्य सम्पन्न भएको उनले बताए।

०२६ सालमा एकैपटक नापी गर्न कठिनाइ भएपछि एउटै कित्तामा छाडिएको जग्गालाई गाउँब्लकका रूपमा राखिएको थियो। सोही समस्याको समाधानका लागि पाँचवटा नापी टोली परिचालन गरी कामलाई तीव्रता दिइएको थियो।

लामो समयदेखि जोतभोग गर्दै आएका स्थानीयले लालपुर्जा पाएपछि वास्तविक स्वामित्वको अनुभूति भएको बताएका छन्। मोतीनगरका ८० वर्षीय श्यामलाल केवटले भने, ‘आफ्नै जीवनकालमा लालपुर्जा पाउँछु भन्ने सोचेको थिइनँ, अब बल्ल आफ्नो जग्गाको मालिक भएको महसुस भएको छ।’

मेयर श्रेष्ठले यो उपलब्धि सहज रूपमा नभएको उल्लेख गर्दै भने, ‘धेरै वर्षदेखि थाती रहेको समस्यालाई समाधान गर्न सबै निकायको सहकार्य आवश्यक थियो। अब हाम्रो पालिकाभित्र कुनै पनि नागरिक लालपुर्जाविहीन रहने अवस्था अन्त्यतिर पुगेको छ।’

कार्यक्रममा गाउँब्लक जग्गाको नाप–नक्सा कार्य सफलतापूर्वक सम्पन्न गर्ने ५ नम्बर नापी टोलीका सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो।

सुझावित समाचार