नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइटमा टी–२० आई खेल आयोजना गर्दै छ । आइसिसी विश्वकप लिग २ अगाडि नेपाल र युएईबिच दुई खेलको टी–२० आई खेल सोमबार हुन लागेको हो । यस मैदानमा गत वर्षको मंसिरमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग भएको थियो ।
क्यानले आइपिएल सकिएको पाँच महिनापछि पहिलोपटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न लागेको जनाएको छ ।
युएईविरुद्धको टी–२० आईअघि क्यानले शनिबार र आइतबार फ्लड लाइट परीक्षण गरेको छ । नेपाली खेलाडीले आइतबार साँझ प्रशिक्षण गरेका छन् । एक महिना एनपिएल चल्दा घरेलु खेलाडी फ्लड लाइटमा खेल्न अभ्यस्त भइसकेका थिए । यस अवधिमा नेपालका खेलाडीले भारत र श्रीलंकाले आयोजना गरेको आइसिसी टी–२० विश्वकप क्रिकेटमा डे–नाइटमा प्रतिस्पर्धा गरेका थिए ।
लगभग एक महिनापछि नेपाली टोली टी–२० आईमा फर्किंदा कप्तान पनि नयाँ पाएको छ । क्यानले पहिलोपटक एकदिवसीय र टी–२० फर्म्याटमा फरक कप्तान बनाइसकेको छ । लामो समयदेखि उपकप्तान रहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि पहिलोपटक नेपालको सिनियर टी–२० टोलीको कप्तानी गर्नेछन् । क्यानले यसअघि नेपाललाई लगातार दुईपटक टी–२० विश्वकपमा स्थान दिलाएका नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिइएको छ ।
क्यानले शनिबार टोली घोषणा गर्दा टी–२० आईमा रोहितलाई बाहिर राखेको छ । अब ऐरीकै कप्तानीमा नेपालले युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका मुख्य प्रशिक्षक स्टुवाट लले ऐरी नयाँ कप्तान भए पनि अनुभव खेलाडी भएको बताएका छन् । ‘पक्कै पनि दीपेन्द्रसिंहले पहिलोपटक कप्तानी गर्दै छन्, तर उनी अनुभवी खेलाडीमा पर्छ । उनको कप्तानीमा राम्रो नतिजा निस्किनेछ,’ खेलअघि आइतबार आयोजित प्रिपोस्टमा प्रशिक्षक स्टुवार्टले भने, ‘उनलाई युवा खेलाडीले साथ दिनेछन् ।’
त्रिवि क्रिकेट मैदानमा दुई वर्षपछि पुरुष टोली अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन लागेको हो । यस मैदानमा अन्तिमपटक सन् २०२४ को मार्चमा नेदरल्यान्ड्स र नामिबियासम्मलित लिग २ खेलमा नेपालले प्रतिस्पर्धा गरेको थियो । फ्लड लाइटसहितको अन्तर्राष्ट्रियस्तरको मैदान स्तरोन्नतिका कारण अन्तर्राष्ट्रिय खेल नै भएन । गत वर्ष कात्तिकमा ६ वटा फ्लड लाइटसहित १२ हजार दर्शक क्षमताको प्यारापिट बनेपछि खेल क्रमिक रूपमा भएको हो । यसबिचमा महिला क्रिकेट टोलीले आइसिसी टी–२० विश्वकपको ग्लोबल खेलमा सहभागिता जनायो । जहाँ नेपाली महिला सिनियर टोली घरमै आयोजना भएको ग्लोबल छनोटबाटै बाहिरियो ।
युएई र नेपालबिच ११ भिडन्त
नेपाल र युएईबिच अहिलेसम्म टी–२० आईमा ११ पटक भिडन्त भएको छ । जसमा नेपालले ६ तथा युएईले ५ खेलमा जित निकालेका छन् । यी दुईबिच अन्तिमपटक खेल अक्टोबर २०२५ मा भएको थियो । युएई, हङकङ र नेपाल सहभागी टी–२० आई सिरिज भएको थियो । जुन खेलमा नेपाल चार विकेटले पराजित भयो । सन् २०१९ मा नेपाल र युएईबिच पहिलोपटक टी–२० आई खेल भएको थियो । नेपालले पहिलो भेटमै युएईलाई २१ रनले हराएको थियो ।
नेपाल र युएईबिचको खेललाई क्रिकेट इतिहासमा एसोसिएट राष्ट्रकै ‘एल क्लासिको’का रूपमा लिने गरिन्छ । यी दुईबिचको प्रतिस्पर्धा सधैँ रोमाञ्चकताले भरिएको हुन्छ । मुख्य प्रशिक्षक स्टुवाटले युएई बलियो प्रतिद्वन्द्वी भएको बताएका छन् । ‘नेपालको नजरमा युएई सधैँ बलियो प्रतिद्वन्द्वी टोली हो, उनीहरू एकआपसमा प्रतिस्पर्धा गरिरहँदा रोमाञ्चकताले भरिएको हुन्छ,’ स्टुवार्टले भने, ‘मलाई विश्वास छ– यो खेलमा पनि दर्शकले पनि उत्तिकै साथ दिनेछन् । मैदानमा हजारौँ घरेलु दर्शकको साथमा नेपालले राम्रो खेल्नेछ ।’ क्यानले युएईविरुद्ध दुई खेलको टी–२० आई सिरिजका लागि ७५० रुपैयाँ टिकटदर तोकेको छ । नेपाल र युएईबिचको खेल सोमबार र मंगलबार हुनेछ ।
टोलीमा दुई सहायक प्रशिक्षक
क्यानले युएईविरुद्धको टी–२० सिरिजअघि दुईजनालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । मुख्य प्रशिक्षक स्टुवाट लको सहायक रहने गरी वसन्त शाही ठकुरी र कलाम अलीलाई नियुक्त गरिएको क्यानले जनाएको छ । वसन्त यसअघि मोन्टी देसाई मुख्य प्रशिक्षक रहँदा सहायकको भूमिकामा थिए । स्टुवाटले यसअघि ज्ञानेन्द्र मल्ललाई सहायक प्रशिक्षक जिम्मेवारी दिएका थिए । ज्ञानेन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा बसेर राजनीतिमा होमिँदै प्रशिक्षकको भूमिका छाडेका थिए ।