एक सरकारी विभागमा दुई अधिकृत थिए राजेश र विमल । दुवैको पद एउटै र तलब–सुविधा पनि उही थियो । तर, दुवैको जीवनस्तरमा भने आकाशजमिनको अन्तर थियो । राजेश इमानदार थिए । पुरानो मोटरसाइकल चढ्थे । साधारण कपडा लगाउँथे । महिनाको अन्त्यमा राज्यबाट जे सुविधा पाउँथे, त्यसैमा रमाउँथे ।
ओछ्यानमा पल्टिनासाथ मिठो निद्रा निदाउँथे । अर्कातिर विमल थिए । उनी मौका पाउँदा पैसा नखाने कर्मचारी मूर्ख हो भन्थे । उनीसित आलिसान महल थियो, लक्जरियस गाडी थियो । उनी राजेशलाई मूर्ख भन्थे । राजेश भन्ने गर्थे– ठिकै छ म मूर्खै रहनुमा खुसी छु । कम्तीमा मैले मिठो निद्रा त कमाएको छु । आफ्नो कर्मको फल कुनै न कुनै दिन ब्याजसहित फर्केर आउने निश्चित छ । त्यसैले, बरु तिमी पनि आजै आफ्नो कर्म सुधार ।
केही समयपछि विमलका छोराको जन्मदिन थियो । उनले छोरालाई एउटा निकै महँगो सपर बाइक उपहारमा दिए, जुन घुसको पैसाबाट किनिएको थियो । सोही रात उनका छोराले रक्सीको नशामा बेतोडले बाइक कुदाउँदा गम्भीर दुर्घटना भयो । छोरा कोमामा गए । अस्पतालमा उनको उपचार चलिरहेको थियो । छोराको उपचारमा विमलले आफूले जम्मा गरेको सम्पूर्ण कालो धन खर्चिए । तर, पैसाले छोरालाई बचाउन सकेन । जुन पैसा उनले अरूको आँसु बगाएर जम्मा गरेका थिए, आज त्यही पैसाले उनको आफ्नो आँसु पुछ्न सकेन ।
छोराको मृत्युपछि विमलको घर उजाडियो । पत्नी गम्भीर डिप्रेसनमा गइन् । विमललाई पनि हृदयाघात भयो । आलिसान महल खण्डहरमा परिणत भयो । साथीको अवस्थाबारे सुनेपछि राजेश उनलाई भेट्न अस्पताल पुगे । राजेशलाई देख्नासाथ विमलले रुँदै भने– मित्र, तिमी एकदमै सही थियौ । मैले विष संकलन गरेको रहेछु । त्यही विषले आज मेरो, घर, परिवार तहसनहस पारिदियो । मित्र, म मेरो छोराको हत्यारा हुँ । गलत बाटोबाट कमाएको सम्पत्तिले कसैलाई कहिल्यै सुख दिँदो रहेनछ ।