बागमती प्रदेश सभाका सांसदहरूले जनसरोकारका मुद्दामा सरकार मूकदर्शक बनेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बसेको प्रदेश सभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले बजेट व्यवस्थापनदेखि मल अभाव, विपद् तयारी, भाषिक अधिकार र शासन प्रणालीसम्मका विषयमा सरकारको कार्यशैलीको आलोचना गरेका हुन्।
सांसदहरूले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको मात्र होइन, संसदीय पद्धतिलाई समेत कमजोर बनाउने दिशामा अघि बढेको टिप्पणी गरेका छन् । लामो समयसम्म सभामुख चयन हुन नसक्नु, विकास योजनामा ढिलासुस्ती र नीति कार्यान्वयनमा कमजोरी देखिनु यसको उदाहरण भएको उनीहरूको भनाइ छ ।
बैठकमा बोल्दै कांग्रेसका सांसद रामकृष्ण चित्रकारले संघीय सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयप्रति आपत्ति जनाउँदै यसले शिक्षा र स्वास्थ्य सेवा प्रभावित हुने बताए। ‘शिक्षा नियमावलीअनुसार वर्षमा कम्तीमा १८० दिन कक्षा सञ्चालन हुनुपर्छ, तर दुई दिन बिदाले पढाइ प्रभावित हुन्छ,’ उनले भने। उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्न र वर्षायामअघि नै विपत् व्यवस्थापनका पूर्वतयारी गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
सांसद बालकुमारी विश्वकर्माले ‘दलित सशक्तीकरण विधेयक’लाई सरकारले प्राथमिकता नदिएको आरोप लगाइन्। संविधानले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा दलित समुदाय अझै शिक्षा, स्वास्थ्य र न्यायको पहुँचबाट वञ्चित रहेको उनको भनाइ थियो। ‘दलित नागरिकलाई कहिलेसम्म दोस्रो दर्जाको नागरिक बनाइराख्ने?’ उनले प्रश्न गरिन्।
कृषि क्षेत्रका समस्या उठाउँदै सांसद रामकुमार पहाडीले खेतीपातीको सिजन सुरु हुन लाग्दा किसानले मल र बीउ नपाएको गुनासो गरे । उनले कालोबजारीका कारण किसानले चर्को मूल्य तिर्न बाध्य भएको उल्लेख गर्दै संघीय सरकारसँग समन्वय गरी आपूर्ति सहज बनाउन माग गरे।
यस्तै, सांसद समिता खड्का श्रेष्ठले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरिए पनि कार्यान्वयन फितलो रहेको बताइन् । सदनमा अनुवादकको व्यवस्था नहुँदा मातृभाषामा राखिएका धारणा प्रभावकारी रूपमा सञ्चार हुन नसकेको उनको भनाइ थियो। ‘भाषा र संस्कृतिको जगेर्ना नगरे संघीयताको मर्म नै कमजोर हुन्छ,’ उनले भनिन् ।
विकास बजेटको उपयोगबारे प्रश्न उठाउँदै सांसद लक्ष्मी श्रेष्ठले साना टुक्रे योजनाभन्दा ठुला उद्योग स्थापनामा लगानी गर्न सुझाव दिइन् । उनले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी बजेट परिचालन गर्नुपर्ने धारणा राखिन् ।
यसैगरी, सांसद उद्धव थापाले विद्यालय भर्ना अभियान र शैक्षिक सत्रको अन्योल अन्त्य गर्न माग गर्दै मेलम्ची खानेपानी आयोजनाको पाइप पुगेका क्षेत्रमा समेत पानी नआएको समस्या समाधान गर्न सरकार सक्रिय हुनुपर्ने बताए।
प्रदेश संरचनामाथि नै प्रश्न उठाउँदै सांसद राजेन्द्र प्रजापतिले प्रदेश सांसदको भूमिका कमजोर बन्दै गएको टिप्पणी गरे । ‘हामी प्रदेश सांसद हौँ भन्ने मात्र हो, व्यवहारमा वडाध्यक्षभन्दा पनि कम अधिकार छ,’ उनले भने, ‘बजेट कार्यान्वयन नहुनु र निर्णय प्रभावकारी नहुनुले प्रदेश संरचनामाथि नै प्रश्न उठाएको छ।’
त्यस्तै, सांसद रत्नप्रसाद ढकालले मन्त्रालयको संख्या घटाएर प्रशासनिक खर्च कम गर्नुपर्ने प्रस्ताव राखे। उनले हाल कायम १४ मन्त्रालयलाई घटाएर अधिकतम ८ वटामा सीमित गर्नुपर्ने माग गरे। साथै, ट्रेड युनियनमाथि लगाइएको प्रतिबन्ध हटाउन प्रदेश सभामार्फत संघीय सरकारको ध्यानाकर्षण गराए।
आइतबारको बैठकबाट बागमती प्रदेश सभाले दुई महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश सभाको अर्थ तथा विकास समितिमा पठाउने निर्णय गरेको हो।