लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ। सातौं अधिवेशनको आइतबार बसेको १२औं बैठकले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाएको हो।
बैठकमा उक्त प्रस्ताव उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रस्तुत गरेका थिए। यसैगरी, प्रदेश मामिला तथा कानून समितिकी सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गरिन्।
आजको बैठकमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा मुलुकमा विभिन्न क्षेत्रमा देखिएका समस्याहरु राखेका थिए। पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि भन्सारमा गरिएको कडाइ तथा कृषि क्षेत्रका समस्या बारेमा कुरा उठाएका थिए।
बैठकमा प्रदेश सभा सदस्यहरु बसिउद्दिन खाँ, मिनाकुमारी श्रेष्ठ, तुलसीराम शर्मा, चन्द्रकेश गुप्ता, भण्डारीलाल अहिर, भगवति अधिकारी, बादशाह कुर्मी, चिन्तामणि पाण्डे, रत्नबहादुर खत्रीले विभिन्न क्षेत्रका विषय राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
सातौं अधिवेशनको १३औं बैठक सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ।