राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा सचेतक क्रान्तिशिखा धितालले पत्रकारिता क्षेत्रले अझ गहिरा र बौद्धिक प्रश्नहरू उठाउनुपर्ने बताएकी छिन्। धितालले पछिल्लो समय मुख्यधारका मिडिया र युट्युब च्यानलहरूबिच देखिएको दूरी पनि प्रश्नको स्तरले निर्धारण गर्ने उल्लेख गरिन्।
पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गर्ने स्तर उकास्नुपर्नेमा जोड दिँदै मुख्यधार मिडिया र अन्य डिजिटल प्लाटफर्मबिचको अन्तर घटाउन सकिने बताएकी छिन्।
उनले मिडियाले महिलालाई विषयवस्तुबाट हटाएर वस्तुकरण गर्ने प्रवृत्ति अझै कायम रहेको आरोप पनि लगाएकी छिन्। विशेषगरी युवा महिला नेतासँग अन्तर्वार्ता गर्दा ‘राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनुभएको छ’ जस्ता टिप्पणीबाट संवाद सुरु गरिने अभ्यासप्रति उनले आपत्ति जनाइन्।