झापाको दमक नगरपालिका– १० जहदा टोलका खड्गबहादुर श्रेष्ठको घर हाइटेक पोल्ट्री फर्मको ३० मिटर दूरीमा छ । दमककै ठुलो यो कुखुरा फर्मका कारण उनको परिवारले हैरानी भोग्नुपरेको छ । फर्मबाट निस्कने दुर्गन्ध उनको घरसम्म आइपुग्छ । फर्मबाट निस्कने दुर्गन्धले घरमा बस्न नै मुस्किल हुन्छ । त्यति मात्र होइन, थेग्नै नसक्ने गरी उनको घरसम्म झिँगा फैलिएको छ ।
फर्मलाई व्यवस्थित गर्न नसक्दा अहिले उठीवास लाग्ने अवस्था आएको खड्गबहादुर बताउँछन् । ‘गन्धले रातभर सुत्न सकिँदैन । गन्ध जतिवेला पनि आउँछ । झिँगाले हैरानी दिएको छ । खानासँगै झिँगा पनि खाइन्छ,’ उनले भने, ‘फर्मदेखि सबैभन्दा नजिकको घर नै मेरो हो । यति ठुलो फर्म त हामी हटाउन सक्दैनौँ, तर यहाँदेखि सारिदिए हुन्थ्यो भन्ने भएको छ ।’
घरमा पाहुना आउँदा पनि दुर्गन्ध र झिँगाका कारण खाना पनि खान नसक्ने अवस्था आएको उनी बताउँछन् । ‘पाहुना आउँदा त लाज नै हुन्छ । पोहोर फागुनमा छोरीको विवाह थियो । झिँगाका कारण कसैले पनि खाना खाएनन्,’ उनले भने, ‘हाम्रो समस्या कसैले बुझेनन् । दुर्गन्ध आयो भन्दा उल्टै धम्की दिइन्छ ।’
झिँगा कम गर्न भनेर फर्मले वेलावेलामा विषादी छर्किन्छ । तर, त्यो विषादीले कृषक उल्टै मर्कामा छन् । ‘विषादी छरेको थाहा पाएनौँ । भैँसी चराएका थियौँ । भैँसी नै बिरामी भयो,’ खड्गबहादुर भन्छन्, ‘१० हजार खर्च गरेर भैँसी बचाएँ ।’
यो पोल्ट्री फर्मका कारण सिँगो गाउँ नै प्रताडित छ । जहदा टोलका करिब ५० घरपरिवार यो फर्मको दुर्गन्धको सिकार बनेका छन् । फर्मबाट निस्किएको सुलीले गाउँसम्म नै दुर्गन्ध फैलिएको छ । फर्मबाट निस्किएको सुली फर्मवरिपरि जथाभावी छ । एउटा ट्यांकी बनाएर त्यहाँ सुली जम्मा पनि गरिएको छ । तर, ट्यांकीमा छोप्ने नहुँदा त्यसको दुर्गन्ध गाउँसम्म फैलिएको छ । ०७५ मा स्थापना भएयता स्थानीयले दुर्गन्ध र झिँगाका कारण सास्ती व्यहोर्नुपरेको छ । ‘पूजा, विवाहजस्ता कार्यमा त यहाँ आएका पाहुनाले झिँगा र दुर्गन्धका कारण खाना खान सक्दैनौँ । हामी दैनिक समस्या भोगेर बसिरहेका छौँ,’ स्थानीय राधिका पौडेल भन्छिन्, ‘झिँगा बस्नै नसक्ने गरी आउँछ । दुर्गन्ध उस्तै छ । दुर्गन्धका कारण हैजा फैलने डर पनि छ । हामीले पाँच वर्षदेखि यो समस्या भोग्दै आएका छौँ ।’
स्थानीयले लामो समयदेखि आवाज उठाइरहेका छन्, तर समस्या उस्तै छ । २४ मंसिर ०८० मै स्थानीयले दमक– १० स्थित वडा कार्यालयमा समस्या समाधान गरिदिन माग गर्दै निवेदन दिएका थिए । तर, सुनुवाइ नभएपछि उनीहरू पुनः केही दिनअघि नगरपालिकामा पुगे । दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले प्रभावित स्थानीयलाई नै नराखी केही जनप्रतिनिधि र सञ्चालकसँग २४ चैतमा बैठक बसेर केही निर्णय गरेका छन् । बैठकले झिँगा नियन्त्रण नभएसम्म फर्मपरिसरको एक किलोमिटरवरिपरि विषादी छिट्ने, फर्मको हातामा रहेको सुली र अन्य फोहोर तीन दिनभित्र व्यवस्थापन गर्ने, सुली व्यवस्थापनका लागि तीन महिनाभित्र ट्यांकी निर्माण गरिसक्नुपर्ने, फर्मको फोहोर व्यवस्थापनका लागि मोटरपम्पको व्यवस्थापन गरी एक हप्ताभित्र व्यवस्थापन गर्नुपर्ने र कुखुराको दानामा लार्भा चेक केमिकल प्रयोग गर्ने निर्णय गरेको छ । तर, एक साता बितिसक्दा पनि समस्या उस्तै रहेको स्थानीयको गुनासो छ । उक्त निर्णय गर्दा स्थानीय प्रभावित र टोल–विकासलाई समेत नराखीकनै निर्णय भएको जहदा टोल विकास संस्थाका पूर्वअध्यक्ष भक्तबहादुर धिमालले बताए । ‘स्थानीयलाई नराखी सहमति भएछ । तर, अहिलेसम्म पनि केही फरक भएको छैन । पटक–पटक भन्दा पनि समाधान गरिएन,’ उनले भने, ‘यो गतिविधि हेर्दा जनप्रतिनिधि पनि कतै प्रभावित भएका त छैनन् भन्ने शंका उब्जिएको छ । प्रभावितविना नै कसरी सहमति भयो ?’
व्यावसायिक पन्छी फर्म तथा ह्याचरी सञ्चालन निर्देशिकाअनुसार पक्षीपालन व्यवसाय घना मानवबस्ती (१५ घरधुरीनजिक रहेको) क्षेत्रमा गर्न पाइनेछैन । तर, यो फर्मको ३० देखि ५० मिटरको दूरीमा बस्ती छन् । हाइटेक पोल्ट्री फर्मका सञ्चालक माधव पराजुलीले भने व्यवस्थापन भइरहेको बताए । उनले स्थानीय तहले दिएको सुझावका आधारमा पनि व्यवस्थापन गरिरहेको बताए । यद्यपि, झिँगा भने फर्मको कारण नभई अहिले झिँगा आउने समय नै भएको उनको दाबी छ । उनले केही व्यक्तिले सस्तोमा अन्डा नदिएपछि विरोध गरेको दाबी गरे । ‘अहिले धेरै तनावमा छौँ । विभिन्न रोगले कुखुरा मरिरहेको छ,’ उनले भने, ‘न राज्यले हेर्छ, न त बिमा कम्पनीले नै । यस्तो अवस्थामा व्यवसायीलाई तनाव दिने काम नहोस् ।’
दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले १२ बिघा क्षेत्रफलमा रहेको यो दमककै ठुलो कुखुरा फर्म भएको बताए । यो फर्मले व्यवस्थापन गर्न नसक्दा गाउँमा दुर्गन्ध फैलिएको उनको भनाइ छ । ‘उनीहरूले व्यवस्थापन गर्न नसक्दा गाउँमा दुर्गन्धचाहिँ फैलिएको छ । तर, माथिल्लो निकायले दर्ता गरेको यो फर्म बन्द गर्ने अधिकार हामीलाई छैन । फर्मले पनि व्यवस्थापन गर्न नसकेको स्वीकार गरेको छ,’ उनले भने, ‘बैठक बसेर निर्णय गरी केही सुझाव दिएका छौँ । त्यो सुझाव कार्यान्वयन गर्न पनि तयार छन् । यदि कार्यान्वयन गर्ने हो भने केही व्यवस्थापन हुन सक्छ ।’