टी–२० विश्वकपमा फिक्सिङ : क्यानडाका कप्तान र बोर्डमाथि आइसिसीको नजर

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण
  • भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा क्यानडाका कप्तान दिलप्रीत बाजवाले न्युजिल्यान्डविरुद्ध एक ओभरमा जानाजान नोबल र वाइड फ्याँकेको दाबी

भारत र श्रीलंकाले आयोजना गरेको आइसिसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाको टोलीले फिक्सिङ गरेको खुलासा भएको छ । क्यानडाबाट प्रसारण हुने सिबिसीले शुक्रबार करप्सन, क्राइम एन्ड क्रिकेट नामको शीर्षकमा वृत्तचित्र सार्वजनिक गरेको थियो । यसै वृत्तचित्रमा एक महिनाअघि भएको विश्वकपमा आफ्नो राष्ट्रिय टोलीले न्युजिल्यान्डसँगको प्रतिस्पर्धामा फिक्सिङ गरेको खुलासा गरेको छ । जसले अहिले क्रिकेट जगत्मा तरंग ल्याएको छ ।

‘क्यानडा र न्युजिल्यान्डबिचको खेलमा भ्रष्टाचार भएको छ,’ सिबिसीले दाबी गरेको छ । योसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले भ्रष्टाचारविरोधीको आफ्नो इकाइलाई अनुसन्धान थाल्न निर्देशन दिएको छ । ‘प्राप्त सूचनाका आधारमा हामीले क्यानडा र न्युजिल्यान्डबिचको खेलमाथि अनुसन्धान गर्न निर्देशन जारी गरिएको छ,’ आहसिसीले भनेको छ ।

सिबिसीको रिपोर्टअनुसार अहिले अनुसन्धानको केन्द्रमा क्यानडाका कप्तान दिलप्रीत बाजवा रहेका छन् । उनले एक ओभरमा फिक्सिङ गरेको दाबी सिबिसीको छ । ‘न्युजिल्यान्डसँगको एक ओभर शंकास्पद थियो । क्यानडाका कप्तान दिलप्रीतले पाँचौँ ओभर बलिङ गर्न आएका थिए । उनले पहिलो बल नोबल फालेका थिए,’ सिबिसीले भनेको छ, ‘त्यसपछि लेग साइडमा वाइड पनि फालेका थिए । त्यस ओभरमा उनले कुल १५ रन दिए ।’

दिलप्रीतले बलिङ गर्नुअघि क्यानडाले न्युजिल्यान्डको दुई विकेट लिएर खेलमा दबाब बनाएको थियो । कप्तान दिलप्रीतको बलिङपछि न्युजिल्यान्डले खेलमाथि दबाब बनायो । ‘पाँचौँ ओभरपछि क्यानडाले खेल गुमायो । यसमा कप्तानको हात धेरै देखिन्छ,’ सिबिसीले भनेको छ ।

विवादास्पद क्रिकेट बोर्ड
क्यानडा देश आर्थिक रूपमा सम्पन्न छ र प्रशासन पनि राम्रो मानिन्छ । तर, त्यहाँको क्रिकेट भने सधैँ विवादास्पद बन्ने गरेको छ । उनीहरूको क्रिकेट बोर्डको अवस्था निकै दयनीय छ । प्रत्येक महिनाजसो केही न केही घटना भइरहेका हुन्छन् । केही साताअघि मात्र बोर्डका सिइओ सलमान खानामाथि चोरी र ठगीको आरोप लागेको थियो । यही आरोपमा उनी सिइओबाट हटाइए । बोर्डका केही सदस्यले पनि खेलाडीमाथि दबाब दिइरहने पूर्वप्रशिक्षक सलमानले जनाए ।

अहिले सिबिसीको वृत्तचित्रपछि खेलाडीको प्रत्येक अन्तर्राष्ट्रिय खेलको प्रदर्शन शंकाको घेरमा राखिएको छ । यसो त क्यानडाका खेलाडीले सन् २०२४ को विश्वकपको पुरस्कार राशि अझै पाएका छैनन् । खेलाडीलाई सम्झौताविहीन राखिएको र निकै कम पैसामा खेल्न बाध्य पारिएको छ । आइसिसीले यी सबै आरोपलाई गम्भीरतापूर्वक लिएको र आफ्नो नियमअनुसार विस्तृत अनुसन्धान भइरहेको बताएको छ । खेलको निष्पक्षतामाथि प्रश्न उठेकाले दोषी पाइएमा क्यानडा क्रिकेटमाथि कडा कारबाही हुन सक्ने देखिएको छ । यसैबिच नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षकसमेत रहेका पुबुदु दासनायकेले पनि क्यानडा क्रिकेट बोर्डमाथि गम्भीर आरोप लगाएका छन् । 

See More On

सुझावित समाचार