मेसीले किने स्पेनिस क्लब कोर्नेला

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण
  • अर्जेन्टिनी कप्तान लियोनल मेसीले आफ्नो स्वामित्वमा लिएको कोर्नेला स्पेनिस ला लिगाको पाँचौँ डिभिजन क्लब हो

अर्जेन्टिनी कप्तान लियोनल मेसी व्यावसायिक करिअर बलियो बनाउन अग्रसर भएका छन् । मेसीले आफ्नो स्वामित्वमा स्पेनिस पाँचौँ डिभिजन क्लब कोर्नेला लिएका छन् । स्पेनिस मिडियाका अनुसार मेसीले आधिकारिक रूपमा कोर्नेला खरिद गरेका छन् । कोर्नेलाको नयाँ मालिकका रूपमा मेसीको नाम राखिएको छ । कोर्नेलाले मेसीको आगमनले खेलकुद र संस्थागत विकासलाई अगाडि बढाउने लक्ष्य राखेको जनाएको छ । 

स्पेनिस लिगमा मालिकका रूपमा मेसीको आगमन हुँदा स्पेनमा रहेका उनका समर्थक दंग छन् । १७ वर्ष बार्सिलोनामा बसेका मेसीले कोभिडको समयमा पेरिस सेन्ट जर्मेनमा आबद्धता जनाएका थिए । पिएसजीमा दुई वर्ष खेलेका उनले डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीसँग सम्झौता गरेका हुन् । पछिल्लो समयमा उनी मियामीमै आबद्ध छन् । मेसीको मुख्य लक्ष्य नै कोर्नेलाका युवा खेलाडीको प्रतिभा विकासमा जोड दिने बताएका छन् । 

स्पेनिस क्लब बार्सिलोनामा रहँदा उनले चारपटक युरोपियन च्याम्पियन्स लिग तथा कीर्तिमानी रूपमा १० ला लिगा उपाधि जितेका थिए । मेसीले बार्सिलोनाबाट सर्वाधिक सात सय ७८ खेलमा ६ सय ७२ कीर्तिमानी गोल गरेका छन् । उनी सन् २०२१ मा पिएजीमा पुगेका थिए । सन् २०२३ देखि मेसीले मियामीबाट खेलिरहेका छन् । सन् २०१८ मा मेसी बार्सिलोनामा रहँदा कोर्नेलाको भ्रमण गरेका थिए । उनले कोर्नेलाको विकासमा भविष्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कोर्नेलाले पनि स्पेनिस ला लिगाका पूर्वस्टार मेसीले सबै प्रक्रिया पूरा गर्दै क्लब किनेको जनाएको छ । ‘अर्जेन्टिना कप्तान मेसीले कानुनी रूपमा सबै प्रक्रिया पूरा गरेका छन्,’ कोर्नेलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई विश्वास छ, विश्वकै उत्कृष्ट खेलाडी क्लबसँग जोडिँदा हाम्रो पहिचान अब फरक हुनेछ ।’
कोर्नेलाले शीर्ष डिभिजन खेल्ने योजनामा मेसीले सार्थक बनाउने बताएको छ । ‘स्पेनिस ला लिगाको शीर्ष डिभिजन खेल्ने हाम्रो पनि योजना हो,’ क्लबले भन्यो, ‘अहिले हाम्रो सामर्थ्य छैन, तर मेसीले पक्कै पनि हाम्रो र समर्थकको सपना पूरा गर्नेछन् ।’ 

शीर्ष डिभिजनको योजना 
आठपटकको बालोन डिअर अवार्ड विजेता मेसीले क्लबलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । कोर्नेलाले बार्सिलोनाको प्रभाव क्लबमा हुन सक्ने जनायो । ‘मेसीको यो प्रयासमा बार्सिलोनासँगको घनिस्ट सम्बन्ध र क्याटालोनियामा खेलकुद हामीमाथि पर्नेछ,’ क्लबले भनेको छ, ‘स्थानीय प्रतिभा विकासप्रतिको उनले हामीलाई प्रतिबद्धता दिएका छन् ।’ १३ वर्षको उमेरमै अर्जेन्टिनाबाट स्पेन पुगेका मेसीले सन् २००४ अक्टोबरमा १७ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यु गरेका थिए । स्पेनिस ला लिगामा मेसीको मुख्य प्रतिद्वन्द्वी रियल म्याड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो थिए । रमाइलो पक्ष के रह्यो भने गत फेब्रुअरीमा रोनाल्डोले स्पेनकै युडी अल्मेरियाको २५ प्रतिशत सेयर किनेका थिए । अहिले रोनाल्डो साउदी अरेबियाको अल नासरबाट खेल्छन् ।

१५ सय दर्शक क्षमताको रंगशाला
मेसीले किनेको रंगशालाको संरचना त्यति ठुलो छैन । यो रंगशालाको क्षमता १५ सय दर्शक अट्ने रहेको छ । मेसीले रंगशालालाई आधुनिक बनाउन तत्काल केही योजना बनाएको स्पेनिस मिडियाले जनाएको छ । ‘अहिले रंगशालाको क्षमता त्यति ठुलो छैन । स्पेनिस ला लिगामा अगाडि बढ्नु छ भने संरचना परिवर्तन गर्नुपर्छ,’ एल मार्काले जनाएको छ, ‘यस पक्षमा बार्सिलोनाका पूर्वखेलाडीले केही योजना बनाएका छन् ।’ 

कोर्नेलामा अहिले आर्सनलका गोलरक्षक डेभिड राया र बार्सिलोनाका पूर्वखेलाडी जोर्डी अल्बाले युथ सिस्टम हेरिरहेका छन् । ‘मेसीको आगमनले क्लबको इतिहासमा नयाँ अध्यायको सुरुवात गरेको छ, जसले खेलकुद र संस्थागत दुवै पक्षमा विकासलाई अगाडि बढाउनेछ,’ कोर्नेलाले भनेको छ, ‘सबै आधारलाई मजबुत बनाउने र ट्यालेन्टमा लगानी जारी राख्ने लक्ष्य राखेको छ ।’ परियोजना दीर्घकालीन दृष्टिकोण र रणनीतिक योजनाद्वारा निर्देशित रहेको क्लबले भनेको छ । 

कोर्नेलाको फलोअर्स बढ्यो
मेसीले क्लब किनेको समाचार अन्तर्राष्ट्रिय जगत्मा फैलिएको केही क्षणमै कोर्नेलाको सामाजिक सञ्जालको फलोअर्स एकैपटक बढेको छ । मेसी जोडिनुअघि कोर्नेलाको इस्टाग्रामको फलोअर्स ४० हजार मात्र थियो । २४ घण्टाको अन्तरमा कोर्नेलाको फलोअर्स दुई लाख पुगेको छ । बार्सिलोनाको दक्षिण भेगमा रहेको कोर्नेला क्लबले मेसीको फोटो राखेर जर्सी बिक्री गर्ने तयारीमा लागेको छ । मेसीको आगमनपछि यस क्लबको छिमेकीले पनि लगानी गर्ने तयार रहेको एल मार्काले उल्लेख गरेको छ । बार्सिलोनासँगै इस्पानोलले मेसीको समर्थन गरेका छन् । 

See More On

सुझावित समाचार