फर्जी पत्र लेखेर रेशम चौधरीलाई पक्राउ गराउने अधिकृतलाई ६ महिना कैद

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

लिखतसम्बन्धी कसुरमा दोषी पाइएका सर्वोच्चका अधिकृत महिमानसिंह विष्टलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय हुने भएको छ। गत चैतमै विष्टमाथि कसुर ठहर भए पनि सर्वोच्च अदालतले बिहीबार मात्र सजाय निर्धारण गरेको हो।

थरुहट नेता रेशम चौधरीलाई पक्राउ गर्न पत्र पठाएका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्ट दोषी ठहर भएका थिए। जिल्ला अदालत काठमाडौंले ११ महिनाअघि दायर गरेको मुद्दामा गत चैत २२ गते कसुर ठहरको फैसला गरेको थियो।

विष्टले थरुहट नेता चौधरीलाई पक्राउ गर्न अधिकारबाहिर गई पत्राचार गरेका थिए। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीसमेतको जाहेरीले नेपाल सरकार भएको लिखतसम्बन्धी कसुरमा गत ५ जेठमा मुद्दा दर्ता भएको थियो।

सरकारी वा सार्वजनिक लिखत किर्ते गरेको भन्दै उनीमाथि सात वर्ष कैद तथा ७० हजार रुपैयाँसम्म जरिवाना गर्ने गरी माग गरिएकोमा ६ महिनाको कैद तथा जरिवाना भएको हो।  न्यायाधीश खिमानन्द भुसालको इजलासले यो मुद्दामा सुनुवाइ तथा सजाय निर्धारण गरेको हो। 

गत वर्ष १७ वैशाखमा सर्वोच्चका अधिकृत विष्टले तोकिएको जिम्मेवारीभन्दा बहिर गई आफूखुसी कारागारलाई पत्राचार गरेका थिए। जसपछि रेशम चौधरी पक्राउ परेका थिए भने सर्वोच्च अदालत नै विवादमा तानिएको थियो।

अधिकार नै नभएको र पूर्णपाठसमेत नआएको विषयमा फैसला कार्यान्वयनका लागि भनी अधिकृत विष्ट प्रहरीलाई आफैँ पत्र पुर्याउन गएका थिए।

सुझावित समाचार