युवा पुस्तालाई बाउबाजेले गर्दै आएको पुर्ख्यौली पेसाप्रति खासै रुचि छैन। अधिकांश युवाहरू आफ्नो पुर्ख्यौली पेसाबारे खुलेर चर्चा गर्न चाहँदैनन् । उच्च शिक्षा आर्जन गरेका युवाहरू झन् पुर्ख्यौली पेसालाई हेयका दृष्टिले हेर्छन् । पुर्ख्यौली पेसा गर्नुहुन्न भन्ने मान्यता राख्छन् । युवा पुस्ताको मनमस्तिष्कमा जागिर छ। जागिर नपाए बरु वैदेशिक रोजगारीका लागि बाहिर जान्छु भन्ने भावना विकसित भइरहेको छ । मधुवन नगरपालिका– ३, ओराली बजारमा २९ वर्षीय मधु विश्वकर्माले बाउबाजे गर्दै आएका पुर्ख्यौली पेसा गरिरहेका छन् ।
मधुले बाउबाजेले गर्दै आएको पेसालाई आफ्नो मुख्य पेसा बनाएका छन् । करिब तीन वर्ष अघिबाट मधुवन नगरपालिका– ३, ओराली बजारमा आरन राखेर मधुले फलामका औजार बनाउने र मर्मत गर्ने काम सुरु गरे । मधुले ०६९ सालमा एसएलसीको परीक्षा उत्तीर्ण गरे । त्यसपछि उच्च शिक्षा पढ्नका लागि गुलरियामा रहेको बबई क्याम्पसमा गए । मधुले कक्षा ११ को परीक्षा दिए । घरको आर्थिक अवस्था कमजोर भएको हुँदा परीक्षा दिएलगत्तै कमाउनका लागि नुवाकोट गए । जसले गर्दा उनको पढाइ छुट्यो ।
कमाउनुपर्ने बाध्यताले गर्दा पढाइ छुटेपछि मधुको जीवन फेरियो । पढ्ने चाहना हुँदाहुँदै पनि जीवनयापन गर्नुपर्ने र परिवार पाल्नुपर्ने बाध्यताले गर्दा पढाइ पनि बिचमा छोड्नुपरेको मधुले बताए । पढाइ छोडेर कमाउन बाहिर गएको भए पनि घरमा आउँदा बुबाले पहिलेदेखि नै गर्दै आएको कामका सघाउने गरेको जानकारी दिए ।
उनले भने, ‘बुबाले घरमा नै कुटो, चक्कु खुँडा, हलो, कोदालो हँसिया, खुकुरीलगायत घरेलु औजार बनाउने गर्नुहुन्थ्यो । मैले बुबासँग काम गर्दा गर्दै कुटो, कोदालो, हँसिया, खुकुरी बनाउन र मर्मत गर्न सिकेँ । त्यसपछि तीन वर्ष अगाडिबाट ओराली बजारमा परम्परागत रूपमा भए पनि काम गर्नुपर्छ भनेर रुखमुनि बसेर यो काम गर्न थालेँ। यसरी काम गर्दा परिवारको साथमा हुने भएको हुँदा बाहिर जानुभन्दा घरमा बसेर काम गर्नु उचित लाग्यो । त्यही भएर यहीँ बसेँ र काम गरेँ ।’
सुरुसुरुमा आरनमा घरायसी औजार लिएर मर्मत गर्ने मात्र आउने गर्थे । त्यसवेला मधुकोमा खासै धेरै र नयाँ काम आउँदैन थियो । मधुसँग पनि घरेलु औजार बनाउने सिप छ, भनेर धेरैलाई थाहा थिएन । यहाँ बसेर काम गरेर आएको पैसाले जीवनयापन भए पनि अरू खासै प्रगति हुन सकेको थिएन । मधुले आधुनिक तरिकाबाट घरेलु औजार बनाउन सकिन्छ भन्ने बुझेका थिए । तर, पैसा नहुँदा आधुनिक तरिकाबाट औजार निर्माण गर्न सकेका थिएनन् । आर्थिक अवस्था कमजोर भएको हुँदा औजार निर्माण गर्ने कामलाई आधुनिकीकरण गर्न उनले सकेका थिएन ।
आफूले सोचेजस्तो नभएपछि मधु पनि दाइजस्तै विदेश जाने तयारी गर्दै थिए । आफूले जानेको कामबाट खासै आम्दानी नभए पनि मधु निराश हुँदै त्यही काम गर्दै थिए । आफ्नो ज्ञान र सिपलाई प्रयोग गरिरहेका थिए । उनले दिनभरि पीपलको चौतारीमुनि बसेर औजार मर्मत र निर्माणको काम गरिरहे । मधुसँग अन्य पेसा गर्नका लागि लगानी थिएन । के गरौँ कसो गरौँ भन्दै छट्पटिइरहेका थिए भने मनमा झिनो आशा राखेर आम्दानी हुने आशामा ओराली बजारको पीपलको रुखमुनि बसेर ग्राहकको प्रतीक्षा गरिरहे ।
यसरी ग्राहक आउने आसैआसमा बसेका मधुले जिन्दगीमा एकदिन साँच्चै परिवर्तन होला भनेर सोचेका पनि थिएनन् । तर, मधुको जिन्दगी अहिले फेरिएको छ । हिजो ग्राहक कुरेर बस्नुपर्ने बाध्यता अहिले मधुलाई छैन । उनलाई भ्याइनभ्याइ छ । ग्राहकले दिएको अर्डरअनुसार काम पनि गाह्राे भइरहेको छ ।
हिजो एक्लै काम गर्ने मधुले अहिले दुईजनालाई रोजगारी दिएका छन् । मधुले निर्माण गरेको उद्योगमा औजारको माग बढ्दै गएको छ । काम बढ्दै गएपछि मधुले विदेशमा रहेका दाइ पनि फिर्ता बोलाएका छन् । दाइलाई यही पेसामा जोड्न खोजेका छन्। ‘विगतको दिन सम्झिँदा मैले यस्तो काम गर्छु होला भनेर सोचेको थिइनँ । करिब ६ महिनामा मेरो जीवनमा धेरै फेरिएको छ,’ मधुले बताए । पीपलको बोटमुनिबाट सुरु भएको आरन यात्रा अहिले मधुको मधु आरन उद्योग आधुनिक कृषि औजार उत्पादन केन्द्रमा रुपान्तरण र विकास भएको मधुले जानकारी दिए ।
कमाउनका लागि विदेश जान्छु भनेर तयार भएको आफूलाई सल्लाह, सुझाव, सहायोग र साथ दिने संवर्द्धन परियोजनाप्रति ऋणी भएको मधुले बताए । ‘संवर्द्धन परियोजनाले सहयोग गरेपछि मैले मधु आरन उद्योगबाट हँसिया, दराती, चुलेँसी, कुटो, कोदालो, फरुवा, खुर्पा, खुकुरी, खुरा, दाउ, छुरी र हलो बनाउने गरेको छु,’ उनले भने, ‘मैले उत्पादन गरेको औजार घरायसी प्रयोजन, खेतबारीमा प्रयोजनका लागि लग्ने गरेका छन् भने वन उपभोक्ता समितिले वनको झाडी फँडानी र अग्निरेखा निर्माणका लागि लैजाने गरेका छन् ।’
मधु आरन उद्योगलाई आगामी चरणमा बजारसँगको सम्बन्ध सुदृढ गर्ने, उत्पादनको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्ने तथा उत्पादन, बजारीकरण र क्षमता विकासलाई एकीकृत गर्दै उद्यम विस्तार गर्ने रणनीतिमा केन्द्रित रहेको परियोजनाको साझेदार संस्था बी ग्रुपका कृषि तथा उद्यम विकास संयोजक पप्पु यादवले बताए । उनले भने, ‘उद्योगलाई दिगो बनाएर र बजारमुखी कृषि, वन उद्यम प्रवर्द्धन गर्न हामीले पनि सहयोग गर्दै आएका छौँ । बजार र व्यवसाय विस्तार कसरी गर्ने भनेर मधुलाई सल्लाह सुझाव दिइरहेका छौँ ।’
मधु आरन उद्योगमा बनेका औजारहरू मधुवन, राजापुर र ठाकुरबाबा नगरपालिकामा बिक्री हुने गरेका छन् भने पछिल्लो समय अर्डरअनुसारको औजार निर्माण गरिदिनु भन्दै आउने ग्राहकको संख्या पनि बढ्दै गएको छ । बाउबाजेले गर्दै आएको पुर्ख्याैली पेसालाई आधुनिकीकरण गर्न सके देशभित्र रोजगारी सिर्जना गर्न सकिन्छ । पुर्ख्यौली पेसालाई हेयकाे दृष्टिले होइन, आधुनिकीकरण गरी सम्मानपूर्वक हेर्ने बनाउन जरुरी रहेको छ ।