जमुनाहा नाकामा सशस्त्र प्रहरीको कडाइ

चिसो पेय पदार्थ ल्याउनसमेत प्रतिबन्ध

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल–भारत सीमाअन्तर्गत नेपालगन्जको जमुनाहा नाकामा सशस्त्र प्रहरीले कडाइ गरेको छ । यसअघि सामान्य चेकजाँच गर्दै आएका प्रहरीले दुई दिनदेखि सामान्य झोलासमेत हेर्न थालेको छ । भारतबाट किनमेल र काम गरेर फर्किने नेपालीले बोकेका सबै सामान एक–एक गरी हेर्न थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी भीमबहादुर चन्दले बताए । ‘भारतबाट अवैध रूपमा भित्रिने सामान न्यूनीकरण गर्न किनमेल गरेर फर्किने र काम गरेर फर्किनेको झोला तथा अन्य लगेज एक–एक गरी जाँच गर्न नाकामा रहेका बिओपीलाई निर्देशन भएको छ,’ उनले भने ।

चन्दले भन्सार विभागको नीतिअनुसारका सामान मात्र ल्याउन दिइएको बताए । ‘सय रुपैयाँबराबरको सामानमा मात्र भन्सार नलाग्ने नियम छ । सशस्त्र प्रहरीले भन्सार विभागको नीति कार्यान्वयन मात्र गरेको हो,’ उनले भने । चन्दले भन्सार राजस्व छलेर सामान ओसारपसार गर्ने कार्यलाई निरुत्साहित गर्न नाकामा कडाइ गरिएको बताए । अवैध रूपमा सामान ओसारपसार गर्ने कार्यलाई पूर्ण रूपमा बन्द गराउन नसकिए पनि न्यूनीकरण गर्न सशस्त्र प्रहरी लागेको छ,’ एसपी चन्दले भने । 

नेपालगन्ज भन्सार कार्यालयको सहयोगमा सशस्त्र प्रहरीले व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानको समेत भन्सार गराउन थालेको छ । ‘सय रुपैयाँभन्दा माथिका सामानको भन्सार शुल्क तिरेर मात्र नेपाल ल्याउन दिएका छौँ,’ उनले भने, ‘घरायसी प्रयोजनका लागि भन्दै धेरै मूल्यका सामान ल्याउने परिपाटीलाई तोड्ने प्रयासमा छौँ ।’ सशस्त्र प्रहरीले चिसो पेय पदार्थ (कोकाकोला, स्प्राइट, फेन्टा, ड्यु) ल्याउन पूर्ण रूपमा प्रतिवन्ध लगाएको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याउँदै गरेको एक बोतल चिसो पेय पदार्थसमेत नियन्त्रणमा लिएको एसपी चन्दले बताए । सशस्त्र प्रहरीले नेपाल सरकारको नीति र भन्सार ऐन तथा अन्य कानुनको बारेमा सर्वसाधारणलाई माइकिङमार्फत सचेतना दिइएको उनले बताए । 

किनमेलका लागि भारत जाने घट्दै
सशस्त्र प्रहरीले जमुनाहा नाकामा कडाइ गरेपछि किनमेलका लागि भारतीय सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जानेको संख्या घटेको छ । पछिल्लो दुई दिनयता किनमेल गर्न रुपैडिहा जानेको संख्यामा कमी आएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज किरणप्रकाश मल्लले बताए । ‘किनमेल गर्न जानेको संख्या ह्वात्तै घटेको छ । दिनभर भिडभाड हुने जमुनाहा नाकामा आउजाउ गर्नेको संख्या पातलिएको छ,’ उनले भने । रुपैडिहामा किनमेल गर्न जाने नेपालीको संख्या घटेको रुपैडिहास्थित गोयल जनरल स्टोरका सञ्चालक रामगोपाल गोयलले बताए । उनले दुई दिनयता ४० प्रतिशत नेपाली ग्राहक घटेको बताए । ‘सीमामा कडाइ गरिएपछि किनमेलका लागि आउने नेपालीको संख्यामा कमी आएको छ,’ उनले भने ।

नाकामा कडाइ गरिएपछि भन्सार कार्यालयको राजस्व वृद्धि भएको संकलनमा टेवा पुग्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । उनले यात्रु शाखामा गरिएको कडाइले तस्करी रोकिने बताउँदै एकीकृत जाँचचौकी (आइसिपी) भएर सामान ल्याउने क्रम बढ्ने बताए । ‘तस्करी रोकियो भने आइसिपीबाट सामान ल्याउने क्रम बढ्छ । यसले राजस्व संकलनमा टेवा पुग्छ,’ उनले भने । 

सुझावित समाचार