प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले वारेसकाे अनुमतिका लागि दिएको निवेदनमा सर्वाेच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनले वारेसको अनुमति मागेका हुन्।
न्यायाधीशहरू हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको इजलासमा उनको निवेदनउपर सुनुवाइ हुँदै छ।
२०८० सालको असारमा बालेनविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना सम्बन्धमा निवेदन दर्ता गराएकी थिइन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा शाहले काठमाडौंका हलमा भारतीय चलचित्रको प्रदर्शनी रोकेका थिए। त्यसविरुद्ध परेको रिटमा उच्च अदालतले नरोक्न आदेश दिएको थियो। अदालतको आदेशको आलोचना गरेको भन्दै शाहविरुद्ध अवहेलनाको उजुरी दर्ता गरिएको थियो । दुई वर्ष हुन लाग्दा पनि त्यसमा फैसला भएको छैन। वारेस अनुमति नपाउँदा शाहले आफैँ अदालतमा तारेख धाउने गरेका छन्।