- चालू प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा युवा खेलाडी अर्जुन कुमालदेखि सबैभन्दा अनुभवी विनोद भण्डारीसम्मले समूह चरणमा आफूलाई देखाए अब्बल
प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताबाट जय ट्रफीका लागि ६ टोली छनोट भइसकेका छन् । त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम, नेपाल एपिएफ, मधेश, लुम्बिनी र दुईपटकको जय ट्रफी विजेता नेपाल पुलिसले जय ट्रफीमा स्थान पक्का गरेका हुन् । प्रधानमन्त्री कपको फाइनलमा शुक्रबार आर्मी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दै छन् ।
यसपटक युवादेखि अनुभवी खेलाडीले प्रधानमन्त्री कपमा समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका छन् । राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीले आशाअनुरूप प्रदर्शन गर्न सकेनन् । युवा खेलाडी अर्जुन कुमालले दुई शतक र दुई अर्धशतक बनाए । सहभागी खेलाडीमै सबैभन्दा सिनियर विनोद भण्डारीले फेरि उत्कृष्ट प्रदर्शन गरेर आफ्नो प्रभाव देखाए । हेमन्त धामीले उत्कृष्ट बलिङ गर्दै सबैभन्दा धेरै २५ विकेट लिएका छन् । ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी यस्ता छन्:
अर्जुन कुमाल (गण्डकी) ९ खेल, ५०४ रन
२० वर्षीय दायाँहाते ब्याट्सम्यान अर्जुनले प्रधानमन्त्री कपमा छाप राखेका छन् । गत संस्करणमा उनले एक शतक हानेका थिए । यसपटक उनले दुई शतक जोडे । अर्जुनले नौ इनिङ्समा ५०४ रन बनाए । प्रधानमन्त्री कपमा छिटो हजार रन पूरा गर्ने उनी पहिलो खेलाडी बने । उनले लुम्बिनीविरुद्ध अन्तिम बलमा छक्का हान्दै अविजित १०३ रन बनाएका थिए । उनले कोशी प्रदेशविरुद्ध पनि शतकीय इनिङ्स खेले । उनले बागमतीविरुद्ध ७४, आर्मीविरुद्ध ६७ र सुदूरपश्चिमविरुद्ध ३३ रन बनाएका थिए ।
आसिफ शेख (एपिएफ) ९ खेल, ४५७ रन
प्रधानमन्त्री कपमा शेख लयमा देखिए । उनले नौ खेलमा ४५७ रन जोडेका छन् । यो प्रदर्शनसँगै उनले आसन्न आइसिसी विश्वकप लिग २ का लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । प्रतियोगितामा उनी दोस्रो धेरै रन बनाउने खेलाडी हुन् । उनले मधेशविरुद्ध २०८ रनको दोहोरो शतकीय इनिङ्स खेल्ने इतिहास रचे । अहिलेसम्म अन्य नेपाली खेलाडीले दोहोरो शतक लगाएका छैनन् । शेखले बागमतीविरुद्ध ११४ र कर्णालीविरुद्ध अविजित ६५ रन बनाए ।
विनोद भण्डारी (आर्मी) ९ खेल, ४०२ रन
३६ वर्षीय दायाँहाते ब्याट्सम्यान विनोदले युवा खेलाडीलाई चुनौती दिँदै प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरे । उनले नौ इनिङ्समा ४०२ रन बनाउँदै धेरै रन बनाउने सूचीमा तेस्रो स्थान कब्जा जमाए । यसक्रममा उनले दुई शतक र एक अर्धशतक बनाए । उनले सुदूरपश्चिमविरुद्ध सय र कोशीविरुद्ध १८९ रन बनाएका थिए । उनले गण्डकीविरुद्ध ५८ रन जोडे ।
हेमन्त धामी (सुदूरपश्चिम) ९ खेल, २५ विकेट
तीव्र गतिका युवा बलर हेमन्तले सर्वाधिक २५ विकेट लिएका छन् । हेमन्त र बागमतीका सन्दीप लामिछानेले समान २५ विकेट लिए । तर, इकोनोमीमा हेमन्त शीर्ष स्थानमा रहे । नेपाली यू–१९ टोलीको कप्तानसमेत रहेका हेमन्त सिनियर बलरहरू करण केसी र सोमपाल कामीलाई चुनौती दिन सफल भए । सुदूरपश्चिमलाई पहिलोपटक फाइनलमा पुर्याउँदा उनले बागमती प्रदेशविरुद्ध सात विकेट लिएका थिए । सो खेलमा उनले दुई मेडन राखी १४ रन खर्चेका थिए । आर्मी र मधेशविरुद्ध विकेटविहीन हुँदा उनले कर्णालीवरुद्ध ६ तथा कोशीविरुद्ध चार विकेट लिए ।
सन्दीप लामिछाने (बागमती) ९ खेल, २५ विकेट
लेगस्पिनर सन्दीपले आफ्नो लय कायम राख्दै सर्वाधिक विकेट लिनेको दोस्रो स्थान रक्षा गरे । उनी हेमन्त धामीसँग रनरेटमा पछि परेका हुन् । व्यक्तिगत प्रदर्शन उत्कृष्ट देखिए पनि उनले बागमतीलाई जय ट्रफीमा छनोट गराउन सकेनन् । सन्दीपले कर्णालीविरुद्ध एकै खेलमा सात विकेट हात पारे । २५ वर्षीय सन्दीपले कोशीविरुद्ध पाँच तथा सुदूरपश्चिमविरुद्ध चार विकेट लिएका थिए ।
शेर मल्ल (सुदूरपश्चिम) ९ खेल, २२ विकेट
सुदूरपश्चिमलाई फाइनल पुर्याउँदा बलर शेरले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले नौ खेलमा २२ विकेट लिए । २२ वर्षीय उनले गण्डकीविरुद्ध पाँच विकेट लिएका थिए । उनले नेपाल पुलिस, एपिएफ, बागमती र लुम्बिनीविरुद्ध समान तीन विकेट हात पारे । जनकपुरमा भएको बागमतीविरुद्धको खेलमा उनले ३.१ ओभर बलिङ गरेर २ रन मात्र खर्चेका थिए । सो खेलमा बागमती ४६ रनमै समेटिएको थियो । पछिल्लो समय सुदूरपश्चिमका लागि हेमन्तलाई शेरले उत्कृष्ट साथ दिइरहेका छन् ।