बायर्न म्युनिखसँग रियल म्याड्रिड स्तब्ध

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण
  • सर्वाधिक १५ पटकको च्याम्पियन्स लिग विजेता स्पेनिस क्लब रियल म्याड्रिड क्वार्टरफाइनलमा बायर्नसँग ६–४ ले पराजित 

जर्मन क्लब बायर्न म्युनिखले रियल म्याड्रिडलाई समग्रमा ६–४ ले हराउँदै युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधबार भएको क्वार्टरफाइनलको दोस्रो लेगमा बार्यनले रियललाई ४–३ को जित निकाल्दै अन्तिम चारको स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक दोस्रो लेगको सुरुवाती ६ मिनेटभित्रै बायर्न र रियलले गोल गरेका थिए । बायर्नका गोलरक्षक मानुएल नोएर र रियलका गोलरक्षक आन्द्रेई लुनिनको गल्तीमा यी गोल भएका थिए । बायर्नले प्राप्त अवसरमा गोल गर्दै रियलमाथि दबाब राख्यो । मध्यान्तरअघि रियलका आर्डा गुलरले दुई गोल गरे । रियलका लागि फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेले पनि गोल गरेका थिए । 

बायर्नका लागि हेरी केनले गोल गरे । बायर्नका लुइस डियाज र माइकल ओलिसेले गोल गर्दै बायर्नलाई जित दिलाए । बायर्नले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग खेल्नेछ । यसअघि पहिलो लेगमा बनाएको अग्रता बायर्नले केवल ३५ सेकेन्डमै गुमायो । गुलरको पहिलो गोल च्याम्पियन्स लिगमा रियलका लागि सबैभन्दा छिटो गोल बन्यो । यसअघि यो कीर्तिमान गेराथ बेलले २०१६ मा बनाएका थिए । 

रियल खराब लयमा
बायर्नसँग पराजित भएपछि रियलका खेलाडी र समर्थक स्तब्ध बनेका छन् । हारसँगै रियलका लागि यो सिजन उपाधिविहीन हुने सम्भावना बढेको छ । रियलले कीर्तिमानी १५ पटक च्याम्पियन्स लिग र ३६ पटक स्पेनिस ला लिगा जितेको छ । यस सिजन रियलको अवस्था कमजोर देखिएको छ । ला लिगामा बार्सिलोना ९ अंकले अगाडि छ । स्पेनिस ला लिगामा सात खेल बाँकी छन् । पछिल्लो दश वर्षमा रियल पाँचौँपटक उपाधिविहीन हुने अवस्थामा पुगेको छ । रियलको यो सिजन उतारचढावपूर्ण रह्यो ।

सिजनको सुरुवातमा जाबी अलोन्सो प्रशिक्षक थिए । उनले जनवरीमा राजीनामा दिए । क्लबका पूर्वखेलाडी अल्भारो आर्बेलोआले टोली सम्हाले । आर्बेलोआको नेतृत्वमा रियलले २१ मध्ये १३ खेल जित्यो । 

रियलको इतिहासमा ठुला उपाधि जित्न नसक्दा प्रशिक्षक पदबाट हटाइने चलन छ । म्यानुएल पेलेग्रिनी र जिनेदिन जिदानले पनि उपाधि नजितेका कारण क्लब छाडेका थिए । ‘हारको जिम्मेवार लिन्छु, यो क्लबलाई आफूभन्दा बढी माया गर्छु,’ रियलका प्रशिक्षक आर्बेलोआले भने, ‘क्लबको निर्णयको सम्मान गर्नेछु ।’ क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज उपाधि नजित्ने प्रशिक्षकलाई माफ गर्ने स्वभावका छन् । रियलले सबै प्रतियोगिताका पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन । यसै साता ला लिगामा रियलले घरेलु मैदानमा गिरोनासँग १–१ को बराबरी खेलेको थियो । 

आर्सनल अन्तिम चारमा
आर्सनलले घरेलु मैदानमा गोलरहित बराबरी खेल्दै स्पोर्टिङ सिपीविरुद्ध समग्रमा १–० को जितसहित च्याम्पियन्स लिगको सेमिफाइनल पक्का गर्यो । पहिलो लेगमा काई हाभर्ट्जले अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । आर्सनलले अब फाइनल प्रवेश खेलमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सिस्कोले प्रहार गरेको बल क्रसबार हुँदै बाहिरिएको थियो । पहिलो हाफको अन्त्यतिर स्पोर्टिङले अग्रताको अवसर गुमायो । म्याक्सी अराउजोको पासमा जेनी कातामोले गरेको भली बारमा लागेर फर्कियो । आर्सनलका गोलरक्षक डेभिड रायको गल्तीमा स्पोर्टिङले सहज गोल गर्न सकेन । 

See More On

सुझावित समाचार