नक्कली नेपाली नोटको कारोबारमा संलग्न भएको अभियोगमा रुपन्देहीमा चारजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्लाका विभिन्न स्थानहरूमा नेपाली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नक्कली नोटसहित चारजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगंगा नगरपालिका– २ बस्ने ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली नगरपालिका– १५ बस्ने २८ वर्षीय सुजन खनाल भन्ने मुक्तिप्रसाद खनाल, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी– ८ बस्ने ३५ वर्षीय रोलबहादुर श्रेष्ठ र काठमाडौं बुढानीलकण्ठ– ९ बस्ने ५३ वर्षीय दीपेन्द्र थापा रहेका छन्।
जिप्रका तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले निगरानीको क्रममा सिद्धार्थनगर नगरपालिका– ५ भैरहवा र सैनामैना नगरपालिका– १० स्थित भच्कैयाबाट पछिल्लो दुई साताको बिचमा उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका नेपाली नक्कली नोट २१ थान बरामद गरेको प्रहरीले जनाएको छ।