काठमाडौं महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलमा धूम्रपान गर्नेहरूलाई स्वयंसेवक परिचालन गरेर जरिवाना तिराइने भएको छ। काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको योजनामा यस्तो तयारी गरिएको हो।
यसबारेमा बुधबार नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबिच छलफल भएको छ। छलफलका क्रममा आइजिपी कार्कीले जनचेतना प्रवाह गर्न युवा स्वयंसेवक खटाउन डंगोललाई सुझाव दिएका थिए।
‘धूम्रपान गर्ने सबैलाई थुन्न सकिँदैन, युवाहरूलाई नै भोलेन्टियरिङ गर्न लगाउने र जरिवानाबाट उठाइएको शुल्कबाट उनीहरुलाई केही खर्च दियो भने रोजगार पनि हुन्छ, धूम्रपानविरुद्धको अभियान पनि प्रभावकारी हुन्छ,’ कार्कीले भने।
गत भदौदेखि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान सेवन गर्नेलाई जरिवाना तिराउन थालेको थियो। तर, अनुगमन नहुँदा प्रभावकारी हुन सकिरहेको छैन।