धादिङ समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल निर्वाचित भएका छन् । समाजको तेस्राे अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
उत्तरी धादिङस्थित गंगाजमुना गाउँपालिका– ७, गलनेका स्थायी बासिन्दा दाहालले सन् २०१२ देखि बेल्जियमलाई कर्मथलो बनाउँदै आएका छन् ।रेस्टुरेन्ट व्यवसायमा संलग्न दाहाल गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको महासचिव र नेपाली व्यावसायिक संघ बेल्जियमको उपाध्यक्षको भूमिकामा पनि छन् ।
समाजको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद सिंखडा, उपाध्यक्षमा रुपेन्द्र दहाल र रमेश अधिकारी, महासचिव तेज अर्याल चयन भएका छन् । यस्तै, सचिवहरूमा कविता सिंखडा र रञ्जना सिंखडा, कोषाध्यक्षमा गोपाल तामाङ, सहकोषाध्यक्षमा दीपकचन्द्र भट्ट छन् । कार्यक्रममा बेल्जियमका लागि आवासीय नेपाली राजदूत सेवा लम्साल, गैरआवासीय नेपाली संघ (एनआरएनए)की उपमहासचिव अनुजा प्रधान, गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्षद्वय लोकेन्द्र नेपाल, कमल पन्थी, प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष विनोद न्यौपाने र नेपाली व्यावसायिक संघका महासचिव काशी दनाईलगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
अध्यक्ष दाहालले समाजले आगामी दिनमा बेल्जियममा रहेका धादिङेली समुदायबिच एकता, सहयोग तथा सांस्कृतिक संरक्षणमा भूमिका खेल्ने बताए ।