लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्न नसक्ने बाजुरा र अछामका ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पर्ने पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामले निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएका निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको कार्यालय प्रमुख जंगबहादुर थापाले बताए ।
कार्यालयले जारी गरेको सूचनाअनुसार विभिन्न सडक निर्माण तथा स्तरोन्नति आयोजनाका लागि सम्झौता गरेका निर्माण व्यवसायीहरूले काम नगरेको, प्रगति सन्तोषजनक नरहेको र कार्यालयले पटक–पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि ठेकेदारले वास्ता नगरेको उल्लेख छ । जिम्मा लिएको काममा सुधार नभएको देखिँदा ठेक्का किन नतोड्ने भन्ने विषयमा कारण पेस गर्ने गरी कार्यालयले सूचना जारी गरेको उनले बताए ।
ठेकेदारले पटक–पटक थपिएको म्यादभित्र पनि अपेक्षित प्रगति नभएपछि अन्तिम पटक १५ दिनको समय दिँदै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न कार्यालयले समय दिएको हो । सूचनामा तोकिएको समयभित्र निर्माण व्यवसायीले सन्तोषजनक जवाफ नदिएमा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार ठेक्का सम्झौता अन्त्य गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पूर्वाधार विकास कार्यालय साँफे अछामका सबइन्जिनियर देवेन्द्र राउतले जानकारी दिए ।
स्पष्टीकरण सोधिएका योजनामा बाजुरा र अछामका विभिन्न सडकको स्तरोन्नति तथा निर्माण योजनाहरू रहेका छन् । अछामको घुघुरकोट फडा खप्तड नैनी सडक, कर्णाली करिडोरअन्तर्गत माणिकान्दा मालिका सडक, जैगड माझठाना रामारोशन, बाजुराको कैलाशमाडौं पन्धारा, मार्तडी–कोल्टी–पिलुचौर सडक, सेराअटैचौर थामलेख सडकलगायतका योजना समावेश छन् ।