- आगामी सिजनको जय ट्रफीका लागि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटबाट त्रिभुवन आर्मी, सुदूरपश्चिम, एपिएफ, मधेश, पुलिस तथा लुम्बिनी छनोट
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आगामी सिजनको राष्ट्रिय जय ट्रफीका लागि ६ टोली छनोट भएका छन् । प्रधानमन्त्री कपअन्तर्गत बुधबार समूह चरणका सबै खेल समाप्तिपछि शीर्ष ६ स्थान सुरक्षित गरेका टोली जय ट्रफीमा छानिएका हुन् । समूह चरणमा सहभागी दश टोलीले एक–अर्काविरुद्ध समान नौ खेल खेलेका थिए । जसबाट त्रिभुवन आर्मी, सुदूरपश्चिम, नेपाल एपिएफ, मधेश प्रदेश, नेपाल पुलिस तथा लुम्बिनी प्रदेश शीर्ष ६ स्थानमा रहँदै जय ट्रफीका लागि छनोट भएका हुन् ।
रनरेटका आधारमा गण्डकी प्रदेश सातौँ स्थानमा रह्यो । गण्डकी र लुम्बिनीले नौ खेलबाट समान ९ अंक बटुलेका थिए । रनरेट राम्रो हुँदा लुम्बिनी छैटौँ स्थानमा रह्यो । बागमती, कर्णाली र कोशी प्रदेश यसअघि नै जय ट्रफीको दौडबाट बाहिरिएका थिए । प्रतियोगितामा कोशी प्रदेशले एक खेल पनि जितेन । कर्णालीले एक खेल मात्र जित्यो । बागमती र गण्डकीले समान चार खेल जितेका छन् ।
लिग चरणमा ४४ खेल हुँदा आर्मी क्लब अपराजित रह्यो । एक खेल वर्षाले रद्द हुँदा आर्मीले आठ खेलमा जित निकाल्यो । आर्मीले अन्तिम खेलमा बुधबार लुम्बिनी प्रदेशमाथि रोमाञ्चक एक विकेटको जित निकाल्यो । अर्को खेलमा मधेशले नेपाल पुलिसलाई चार विकेटले हराएको थियो । दोस्रो स्थानमा सुदूरपश्चिम रह्यो । सुदूरपश्चिमले नौ खेलबाट १२ अंक हात पारेको छ ।
प्रधानमन्त्री कपको फाइनलमा आर्मी र सुदूरपश्चिमबिच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघले शीर्ष दुई स्थानमा रहने टोलीबिच उपाधि भिडन्त हुने जनाएको छ । यो खेल शुक्रबार हुनेछ । नेपाल एपिएफ क्लब ११ अंकका साथ तेस्रो स्थानमा छ । एपिएफसँग समान अंक जोडेको मधेश रनरेटमा चौथोमा रहेको छ । लुम्बिनी र पुलिसले पनि ९ अंक हात पारेका छन् । रनरेटमा पुलिस पाँचौँ लुम्बिनी छैटौँ भयो ।
लुम्बिनीमाथि आर्मीको रोमाञ्चक जित
चालू प्रधानमन्त्री कपअन्तर्गत बुधबार ४४औँ खेलमा आर्मीले लुम्बिनी प्रदेशमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ । जनकपुरको मैदानमा पहिलो ब्याटिङ गरेको लुम्बिनीले ३९.२ ओभरमा सबै विकेट गुमाएर १३८ रनको योगफल बनायो । प्रत्युत्तरमा आर्मीले २५.२ ओभरमा नौ विकेटको नोक्सानीमा १४१ रन जोड्दै समूह चरणमा आफ्नो अपराजित यात्रालाई यथावत् राख्यो । आर्मीले नौ विकेटको क्षतिमा जित निकाले पनि खेलको १४८ बलअघि नै सफलता चुमेको हो । आर्मीलाई निर्मल गुरुङ र सन्तोष यादवले बलिङमा समस्यामा पारेका थिए । निर्मलले नौ ओभर बलिङ गर्दा चार विकेट लिए । सन्तोषले ६ ओभरमा १७ रन दिएर पाँच विकेट लिए । यी दुवै बलरको उत्कृष्ट बलिङ स्पेलमा आर्मी इनिङ्सको एक समय ११२–६ र १३४–९ को नाजुक अवस्थामा थियो । तर, ११औँ क्रमका ब्याट्सम्यान आकाश चन्द र इमरान शेखले दसौँ विकेटका लागि आवश्यक रन पूरा गरे । आकाशले एक बलमा चौका प्रहार गरी टोलीलाई जित दिलाए ।
बलियो ब्याटिङ मानिएको आर्मीका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । उनीहरूले खेल छिटो सक्ने चक्करमा आफ्नो विकेट गुमाउँदै जाँदा लुम्बिनी खेलमा हाबी भएको थियो । अघिल्लो खेलमा १८९ रनको उत्कृष्ट इनिङ्स खेलेका कप्तान विनोद भण्डारी शून्यमा आउट भए । ओपनर तृतराज दासले चार बलमा समान एक चौका र छक्का प्रहार गरी १० रन जोडे । मध्यक्रममा भीम सार्की, कुशल मल्ल, अर्जुन साउद तथा जिनेन्द्र ठकुरीले गतिलो साथ दिए ।
भीमले १३ बलमा चार चौकाको सहयोगमा १८ रन बनाए । कुशलले ३६ बलमा सात चौका र एक छक्का प्रहार गरी ४१ रन जोडे । अर्जुनले ३६ बल सामना गरी चार चौका र एक छक्काको सहयोगमा २८ रनको योगदान दिए । इमरानले अन्तिमसम्म नटआउट रही १६ रनको महत्वपूर्ण योगदान दिए ।
लुम्बिनीविरुद्ध आर्मीको कसिलो बलिङ
पहिलो ब्याटिङ गरेको लुम्बिनीको ओपनिङ गतिलो थियो । पहिलो विकेटका लागि प्रज्वल थापा र रञ्जित खड्काबिच १०.४ ओभरमा ४२ रनको साझेदारी भएको थियो । प्रज्वलले ३३ बलमा दुई चौका र एक छक्का प्रहार गरी १५ रन बनाए । ओपनर रञ्जित दोस्रो विकेटका रूपमा आउट भए । उनले ५५ बल खेलेर २८ रन बटुले । यसक्रममा उनले पाँच चौका प्रहार गरेका थिए । मध्यक्रममा कप्तान देव खनालले ३६ बलमा २३ रन बनाए । आकाश त्रिपाठीले २१ तथा सन्तोष यादवले ११ रन बनाए । बलिङमा कुशल मल्लले आठ ओभरमा एक मेडन राखी २६ रन खर्चेर चार विकेट लिएका थिए । भीम सार्कीले १.२ ओभरमा दुई रन दिएर दुई विकेट लिए । नरेन साउदले ४३ रन खर्चेर दुई विकेट हात पारे ।
मधेशविरुद्ध पुलिस कमजोर
प्रतियोगिताको ४५औँ खेलमा नेपाल पुलिसले मधेशविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गर्दा चार विकेटको हार सामना गरेको छ । वीरगन्जमा पहिलो ब्याटिङ गरेको पुलिसले ४०.३ ओभरमा सबै विकेट गुमाएर १३० रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा मधेशले २४.१ ओभरमा ६ विकेटको नोक्सानीमा १३१ रन बनाउँदै महत्वपूर्ण जित निकाल्यो । मधेशको जितमा अरनिको यादवले ४४ बलमा ६ छक्का र तीन चौका प्रहार गरी ६५ रनको नटआउट योगदान दिए । रूपेश सिंहले २९ बलमा २७ रनको योगदान दिए । पुलिसका लागि बलिङमा गुल्सन झाले पाँच ओभरमा २० रन दिएर तीन विकेट लिए । सागर ढकालले ९.१ ओभरमा ३० रन दिएर दुई विकेट हात पारे । पुलिसको ब्याटिङमा ओपनर कुलश भुर्तेलले ३९ रन बनाउन ६ चौका र एक छक्का प्रहार गरेका थिए ।
