मकवानपुर प्रशासनको सेवा : अब घरघरमै राहदानी

प्रारम्भिक चरणमा हेटौँडा उपमहानगर क्षेत्रमा सेवा सञ्चालन

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण
मकवानपुर प्रशासनको सेवा : अब घरघरमै राहदानी

हेटौँडा– १६ का जीवकुमारी गौतम र शिवप्रसाद गौतम हुलाकका कर्मचारीबाट घरमै राहदानी लिँदै ।

सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने अभ्यास नेपालमा अझै नयाँ मानिन्छ । सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, कागजपत्र बोकेर पटक–पटक कार्यालय धाउनुपर्ने झन्झट नेपाली नागरिकका लागि सामान्यजस्तै बनेको छ । तर, मकवानपुरमा भने नयाँ अभ्यासको सुरुवात भएको छ । जसले सेवाग्राहीलाई होइन, प्रशासनलाई नै नागरिकको घरको ढोकासम्म पुर्याएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत राहदानी (पासपोर्ट) सिधै सेवाग्राहीको घरमै पुर्याउने व्यवस्था सुरु गरेको हो । यससँगै राहदानी तयार भएपछि लिन प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

सेवाको सुरुवातसँगै हुलाक कार्यालय मकवानपुरको टोली बुधबार हेटौँडा उपमहानगरपालिका–४, कपुर कम्प्लेक्सनजिक बस्ने २२ वर्षीय निश्चल मानन्धरको घरमै पुगेको थियो । हल्कारा, जिल्ला हुलाक कार्यालयका प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहितको टोलीले मानन्धरको घरआँगनमै राहदानी हस्तान्तरण गरेको हो ।
घरमै राहदानी पाएपछि मानन्धर खुसी देखिन्थे । ‘बल्ल सरकारले राम्रो कामको सुरुवात गरेको छ । यस्तो सेवा अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्छ,’ खुसी हुँदै मानन्धरले भने ।
पहिलो चरणमा हेटौँडा–४ का मानन्धरसँगै सगुन नेपाललगायतका सेवाग्राहीलाई घरमै राहदानी पुर्याइएको हुलाक कार्यालयले जनाएको छ । आवश्यक जनशक्ति र साधन उपलब्ध भएपछि सेवा थप विस्तार गर्ने योजना रहेको छ ।
पहिलो चरणमा ५० राहदानी वितरण
मकवानपुर प्रशासनले पहिलो चरणमा बुधबार ५० वटा राहदानी जिल्ला हुलाक कार्यालयलाई उपलब्ध गराएको छ । जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख रमेश लामिछानेका अनुसार तीमध्ये २६ वटा राहदानी बुधबार नै सेवाग्राहीका घरमै पुगेर वितरण भइसकेका छन् ।
उनका अनुसार हेटौँडा उपमहानगरपालिका–२, ४, ५, ६, १२, १३, १६ र १७ नम्बर वडामा घरमै पुगेर राहदानी वितरण गरिएको छ । ‘हामीले राहदानी सर्टिङ गरेर वितरण सुरु गरेका छौँ,’ उनले भने, ‘५० मध्ये २६ वटा वितरण भइसकेका छन् । केही सेवाग्राहीले कार्यालयमै आएर बुझ्ने बताउनुभएको छ भने केहीसँग सम्पर्क हुन सकेको छैन । कतिपय बाहिर
हुनुहुँदो रहेछ ।’
लामिछानेका अनुसार सेवाग्राहीको इच्छाअनुसार घरमै राहदानी पुर्याउने वा कार्यालयबाट बुझाउने दुवै विकल्प खुला राखिएको छ । ‘घरमै ल्याइदिनुस् भन्नेलाई घरमै पुर्याउँछौँ, कार्यालयमै आउँछु भन्नेलाई त्यहीँबाट बुझाउने व्यवस्था छ,’ उनले भने ।
उपमहानगर क्षेत्रभित्र नजिकका स्थानमा राहदानी प्राप्त भएकै दिन पुर्याउने व्यवस्था गरिएको छ । टाढा र कठिन भूगोल भएका वडामा भने छुट्टै तालिका मिलाएर अधिकतम भोलिपल्ट बेलुकासम्म वितरण गर्ने योजना रहेको उनले बताए ।
यद्यपि, सेवा सञ्चालनमा जनशक्ति र स्रोतसाधनको अभाव चुनौतीका रूपमा देखिएको छ । ‘उपमहानगर क्षेत्रमा केही सहज भए पनि गाउँपालिकास्तरमा सवारीसाधनको अभाव छ । कार्यालयको गाडीसमेत बिग्रिएको अवस्थामा छ,’ लामिछानेले बताए ।
राहदानीसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र र लाइसेन्स पनि हुलाकमार्फत घरमै उपलब्ध गराउने तयारी 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार राहदानी तयार भएपछि सेवाग्राहीलाई फेरि प्रशासन धाउनुपर्ने झन्झट अन्त्य गर्न यो सेवा सुरु गरिएको हो ।
‘सेवा प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयसँग समन्वय गरेर काम अघि बढाएको छ,’ उनले भने, ‘प्रारम्भिक चरणमा हेटौँडा उपमहानगर क्षेत्रमा मात्र सेवा सञ्चालन हुनेछ ।’
हालसम्म तयार भएर पनि लिन नआएका करिब ५०० राहदानी पहिलो चरणमै घरमै पुर्याउने योजना रहेको उनले बताए । जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा राहदानीसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) समेत हुलाकमार्फत घरमै उपलब्ध गराउने तयारी गरेको छ ।
यो सेवा नेपाल सरकारले घोषणा गरेको सयबुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको हो । १३ चैतमा सार्वजनिक उक्त कार्यक्रमअनुसार सय दिनभित्र नागरिकमैत्री सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । सोही कार्यक्रमको बुँदा नम्बर २७ अन्तर्गत घरदैलोमै सेवा पुर्याउने नीति कार्यान्वयनस्वरूप मकवानपुरमा राहदानी घरघरमै वितरण सुरु गरिएको प्रजिअ अधिकारीले बताए ।
 

सुझावित समाचार