युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट दुई पूर्वविजेता बार्सिलोना र लिभरपुल बाहिरिएका छन् । साबिक विजेता फ्रेन्च क्बल पेरिस जर्मेन (पिएसजी)ले इंग्लिस क्लब लिभरपुललाई दोस्रो क्वार्टरफाइनलमा लेगमा २–० ले हरायो । हारसँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिग यात्रा क्वार्टरफाइनलमै सीमित भयो । दुवै लेगमा सानदार जित निकालेको पिएसजी समग्रमा ४–० ले विजयी हुँदै सेमिफाइनलमा पुगेको छ । उपाधि रक्षा गर्न पिएसजीलाई अब दुई खेल जित्नुपर्ने हुन्छ ।
लिभरपुलले दुवै लेगमा पिएसजीविरुद्ध एक गोल पनि गर्न सकेन । हारसँगै लिभरपुल यस सिजन कुनै पनि मुख्य उपाधिविहीन हुने देखिन्छ । पिएसजीले अब सेमिफाइनलमा बायर्न म्युनिख वा रियल म्याड्रिडबिचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले आफ्नो घरेलु मैदान एनफिल्डमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । आफ्नै मैदानमा लिभरपुलले पुनरागमन गर्ने अपेक्षा थियो । तर, उस्मान डेम्बेलेले दुई गोल गरेपछि लिभरपुल रोकियो । सुरुमा पिएसजी र लिभरपुल आक्रामक रूपमा प्रस्तुत भएका थिए ।
पहिलो हाफको खेलमा दर्शकले भरपुर मजा लिए । तर, दुवै टोलीका खेलाडीले अवसर प्राप्त गरे पनि गोल गर्न सकेनन् । लिभरपुलले मध्यान्तरपछि खेलमा फर्किने प्रयास गर्यो, तर गोल गर्न सकेन । खेलको ६५औँ मिनेटमा लिभरपुलले पेनाल्टी पाए पनि भिएआरले निर्णय उल्ट्याएको थियो । अलेक्सिस म्याक एलिस्टरलाई विलियन पाचोले लडाएपछि रेफ्री माउरिजियो मारियानीले पेनाल्टी दिएका थिए । पछि भिएआरले रेफी माउरिजियोको निर्णय परिवर्तन गरेको हो । खेलमा पिएसजीले खेलको ७२औँ मिनेटमा १–० को अग्रता लियो । डेम्बेलेले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दा पिएसजी १–० ले अगाडि रह्यो । खेलको अन्तिम इन्जुरी समयमा डेम्बेलेले बाड्लीको क्रसमा गोल गर्दा लिभरपुलको सेमिफाइनल पुग्ने आशा समाप्त भयो ।
जितले पनि बार्सिलोना निराश
पूर्वविजेता बार्सिलोनाले क्वार्टरफाइनलको दोस्रो लेगमा एट्लेटिको म्याड्रिडको घरेलु मैदान मेट्रोपोलिटानोमा प्रतिस्पर्धा गरेको थियो । बार्सिलोनाले दोस्रो लेगमा आफूअनुकूल नतिजा निकाल्ने प्रयास गरेको थियो । एट्लेकिकोमाथि २–१ को जित निकाले पनि बार्सिलोना पहिलो लेगमा व्यहोरेको गोलका कारण क्वार्टरफाइनलबाट बाहिरिएको हो । समग्रमा म्याड्रिड ३–२ को गोलअन्तरमा च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो । म्याड्रिडको घरेलु मैदानमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गरेको थियो । बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो ।
खेलको चौथो मिनेटमा लामिन यामालले फेरान टोरेसको पासमा बार्सिलोनालाई १–० को अग्रता दिलाए । खेलको २४औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई समग्रमा २–२ को बराबरीमा ल्याए । खेलको ३१औँ मिनेटमा एट्लेटिकोका एडमोला लुकम्यानले गोल गरेपछि बार्सिलोनाको केही चलेन । एडमोलाको गोल नै एट्लेटिकोलाई अन्तिम चारमा पुग्न निर्णायक बन्यो । दोस्रो हाफमा बार्सिलोनाका टोरेसको गोल अफसाइड भयो । खेलको ७९औँ मिनेटमा बार्सिलोनाका एरिक गार्सियाले रातो कार्ड पाए । त्यसपछि बार्सिलोनाले १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो ।
उनले डिबक्सभित्र अलेक्जान्डर सोर्लोथलाई तानेर लडाउन खोजेका थिए । प्रतिस्पर्धामा बार्सिलोनाका यामालले आफ्नो १५०औँ खेल पूरा गरेका छन् । उनको च्याम्पियन्स लिगमा बार्सिलोनाका लागि सबैभन्दा छिटो गोलको रेकर्ड बनाए । उनले एट्लेटिकोविरुद्ध ३ मिनेट ५१ सेकेन्डमा गोल गरेका थिए । यसअघि बार्सिलोनाका लागि सन् २०१८ मा लियोनल मेसीले चेल्सीविरुद्ध दुई मिनेटभित्रै गोल गरेका थिए ।