लामो समयदेखि आर्थिक संकट र कच्चा पदार्थ अभावका कारण प्रभावित हुँदै आएको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने मागले प्राथमिकता पाउन थालेको छ । सरकारले रुग्ण उद्योगहरू पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेका वेला बारम्बार बन्द हुने र खुल्ने अवस्थामा पुगेको उक्त उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरोकारवालाले जोड दिन थालेका हुन् ।
यसैबिच उद्योग सञ्चालनको विषयलाई मकवानपुरका सांसद प्रकाश गौतमले प्राथमिकतामा राख्दै संघीय तथा बागमती प्रदेश सरकारसँग पहल गरिरहेको बताएका छन् । उनले उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि प्रधानमन्त्री, उद्योगमन्त्री तथा बागमती प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेको बताए ।
‘हेटौँडा सिमेन्ट उद्योगलाई कसरी नियमित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री र उद्योगमन्त्रीसँग पनि कुरा गरेको छु,’ सांसद गौतमले भने, ‘केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि यस विषयमा छलफल गरेको थिएँ । सबैबाट सकारात्मक आश्वासन पाएको छु ।’
उनले उद्योगका कर्मचारीसँग समेत अन्तरक्रिया गरी सुझाव संकलन गरेको बताए । उद्योग चलाउन सकिने सम्भावना देखिए पनि व्यवस्थापन कमजोरी, राजनीतिक हस्तक्षेप र आन्तरिक अनियमितताका कारण उद्योग रुग्ण बनेको उनको भनाइ छ ।
‘उद्योग रुग्ण हुनुमा व्यापारिकभन्दा पनि व्यवस्थापन र सरकारी ढिलासुस्ती ठूलो कारण देखिन्छ,’ उनले भने, ‘राजनीतिक हस्तक्षेप रोक्न सकेर पारदर्शी र सक्षम व्यवस्थापन टिम बनाइयो भने उद्योग पुनः सञ्चालन सम्भव छ ।’
उत्पादन अनियमित, कहिलेकाहीँ चल्छ धेरैजसो बन्द
उद्योग प्रशासनका अनुसार चालू आर्थिक वर्ष ०८२/८३ मा उद्योग निकै कम समय मात्र सञ्चालन भएको छ । गत भदौ १९ देखि २४ गतेसम्म पाँच दिन सञ्चालन हुँदा दुई हजार पाँच सय टन क्लिंकर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन गरिएको उद्योगका निमित्त महाप्रबन्धक डा. शिवनारायण साहले बताए ।
गत चैत १३ गतेदेखि उद्योगले पुनः क्लिंकर उत्पादन सुरु गरे पनि कच्चा पदार्थको अभावका कारण फेरि उत्पादन रोकिने अवस्थामा पुगेको छ । कोइला खरिदका लागि बोलपत्र आह्वान गरिएको भए पनि पुरानो बक्यौता रकम तिर्न नसक्दा आपूर्ति हुन नसकेको उनले बताए ।
‘अहिले मौज्दात रहेको कच्चा पदार्थबाट केही दिन मात्र क्लिंकर उत्पादन भइरहेको छ,’ साहले भने, ‘एक-दुई दिनमै उत्पादन पुनः ठप्प हुने अवस्था छ ।’
उद्योग नियमित सञ्चालनका लागि दैनिक करिब १२० टन कोइला आवश्यक पर्ने भए पनि हाल त्यो उपलब्ध नभएको उनले बताए । पुरानो भुक्तानी नतिरेकाले नयाँ कोइला आउने सम्भावना पनि कम रहेको उनको भनाइ छ ।
उत्पादन बन्द भए पनि खर्च भने यथावत्
उद्योगमा उत्पादन बन्द भए पनि नियमित खर्च भने बढ्दै गएको छ । कर्मचारीको तलबभत्ता, मर्मतसम्भार तथा अन्य प्रशासनिक खर्च निरन्तर भइरहेको उद्योग प्रशासनले जनाएको छ ।
हाल उद्योगमा १६६ स्थायी कर्मचारी, सयजना दैनिक ज्यालादारी कामदार र ५२ सुरक्षाकर्मी गरी कुल ३१८ जना जनशक्ति कार्यरत छन् ।
विद्युत् महसुल तिर्न नसक्दा नेपाल विद्युत् प्राधिकरणको पनि ठुलो बक्यौता बाँकी रहेको उद्योगले जनाएको छ । निमित्त महाप्रबन्धक साहका अनुसार उद्योगले प्रयोग गरेको विद्युतको करिब ३० देखि ४० करोड रुपैयाँ बक्यौता रहेको अनुमान छ ।
‘विद्युत् प्रयोग भइरहेको छ, तर महसुल तिर्न सकिएको छैन,’ उनले भने, ‘त्यसैले नियमित विद्युत् आपूर्ति कायम गरिदिनुस् भनेर प्राधिकरणसँग पनि दबाब दिन सकिने अवस्था छैन ।’
पुराना उपकरण, घट्दो उत्पादन क्षमता
हेटौँडा- ९, लामसुरेमा रहेको उक्त उद्योग २०३३ सालमा स्थापना भएको हो । उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर, उद्योगका अधिकांश उपकरण अहिले पुराना भइसकेका छन् र पूर्ण क्षमतामा उत्पादन गर्न नसक्ने अवस्थामा पुगेका उद्योग प्रशासनको ठहर छ । उद्योग सञ्चालनका लागि उपकरण आधुनिकीकरण, कच्चा पदार्थ आपूर्ति सुनिश्चित र व्यवस्थापन सुधार आवश्यक रहेको उद्योगका निमित्त महाप्रबन्धक डा. साहले बताए ।
रुग्ण उद्योग पुनः सञ्चालनको बहस
सरकारले हाल बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरू पुनः सञ्चालन गर्ने नीति अघि सारेपछि हेटौँडा सिमेन्ट उद्योगलाई पनि पुनर्जीवित गर्ने विषय पुनः चर्चामा आएको छ । स्वदेशमै सिमेन्ट उत्पादन बढाउन, रोजगारी सिर्जना गर्न तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन उद्योगलाई नियमित सञ्चालनमा ल्याउनुपर्ने माग बढ्दै गएको छ । तर, आर्थिक समस्या, व्यवस्थापन चुनौती र पुराना उपकरणका कारण उद्योगको भविष्य अझै अनिश्चित देखिएको छ ।