‘जैविक विविधता तथा रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन– २०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा ४ देखि ६ वैशाखसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपाल, भारत, भुटान, बंगलादेश, अमेरिका, अस्ट्रेलिया र जर्मनीले सहभागिता जनाउने भएका छन् ।
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले ‘यो सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन् । ‘विश्वमा जलवायु परिवर्तनमा आएको परिवर्तनका कारण वन्यजन्तु र जैविक विविधता संकटमा पर्दै गएको छ,’ उनले भने, ‘यो अवस्थामा दिक्तेलमा हुने सम्मेलनले आवश्यक राष्ट्रिय नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ उनका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलनले स्थानीय स्वरोजगार, स्थानीय सिप र रैथाने सामग्रीको प्रवर्द्धनमा समेत ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिले दशवटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची राखिएको नगरपालिकाले जनाएको छ । जैविक विविधता संरक्षण र दीर्घकालीन योजना निर्माण, लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्र र प्राथमिकतामा राख्नुपर्ने विषयहरूको पहिचान, जैविक विविधता संरक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग सम्बन्धित कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले बताए ।
सम्मेलनका लागि नगरप्रमुख भट्टराईको संयोजकत्वमा मूल आयोजक समिति र वडा नम्बर १० पाथेकाका वडाध्यक्ष मुगाधन राईको संयोजकत्वमा स्थानीय समिति गठन गरिएको छ । सम्मेलनमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा विज्ञान तथा गणित प्रदर्शनी, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, रैथाने सिप र प्राकृतिक सामग्रीको प्रदर्शनीसमेत गरिने आयोजकले जनाएको छ । साथै, विभिन्न प्रदेशका विश्वविद्यालय, वैज्ञानिक, विषयविज्ञ तथा शैक्षिक संस्थाले पनि आ–आफ्नो क्षेत्रबाट प्रदर्शनीमा सहभागिता जनाउनेछन् ।
रेडपान्डा संरक्षणका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १०, पाथेका र केपिलासगढी गाउँपालिका– १, फेदीमा ‘समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम’ सञ्चालन गरिएको छ । विश्वको लोपोन्मुख वन्यजन्तुमा पर्ने खोटाङमा रहेको पुष्टि भएपछि ‘समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम’ सुरु गरिएको हो ।