कांग्रेसभित्रको समानान्तर गतिविधिले पार्टीलाई कता पुर्याउला ?
पछिल्लो निर्वाचनमा पराजयपछि कांग्रेसका केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्ता पंक्तिसम्ममा गम्भीर राजनीतिक तथा मनोवैज्ञानिक आघात परेको देखिन्छ । एकातिर, शेरबहादुर देउवा–शेखर कोइराला समूह विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालत गएपछि कांग्रेसमा गम्भीर संकट सिर्जना भएको थियो । अर्कातिर, निर्वाचनमा लज्जास्पद पराजयपछि पनि समानान्तर बैठक र अस्वाभाविक गतिविधिलाई निरन्तरता दिएपछि यस्तो संकट थप गहिरिँदै गएको देखिन्छ । विवाद, विभाजन र एकता वंशाणुगत विशेषता भएको कांग्रेसमा यस्ता विवादित गतिविधिले एकता र अस्तित्वका दुवै दृष्टिमा संशयपूर्ण प्रश्न खडा भएको छ । यस्तो प्रवृत्ति आत्मघाती छ, यसले कांग्रेसलाई थप कमजोर बनाउनेछ र नेता–कार्यकर्ताको मनोबल थप खस्किनेछ ।
निर्वाचनबाट थला पर्दा पनि किन नचेतेका होलान् कांग्रेस नेताले ?
कांग्रेसका लागि यो आरोप–प्रत्यारोप, अन्तरकलह र आत्मनिन्दा गर्ने समय होइन, सम्पूर्ण कांग्रेसजनले आत्मसमीक्षा, आत्मचिन्तन र आत्मालोचना गरी आत्मविश्वास जगाउने समय हो । यो नयाँ कांग्रेस बनाउन संकल्प गर्ने घडी हो । जसले जनताको भावना बुझ्छन् र समयको पदचाप चिन्छन्, ती पार्टी वा नेता सान्दर्भिक हुन्छन् । होइन भने इतिहासको पानामा सीमित हुन्छन् । त्यसैले, आरोह–अवरोहपूर्ण राजनीतिक इतिहासबाट शिक्षा तथा भविष्य र जनताबाट प्रेरणा लिएर भविष्यको मार्गचित्र तय गर्ने घडी हो यो ।
अहिलेको संकटबाट पार्टीलाई पुनर्जीवन दिन कांग्रेस नेताले के गर्नुपर्थ्यो ?
कांग्रेसलाई पुनर्जीवन दिने हो भने अब केवल ‘कस्मेटिक’ सुधार, रूपान्तरण र पुनर्गठन मात्रै पनि पर्याप्त छैन । वास्तवमा अब कांग्रेसलाई विनिर्माण वा पुनर्निर्माण नै गर्नुपर्ने खाँचो छ । कांग्रेसलाई जनता र कार्यकर्ताको भावनाअनुसार अविलम्ब विनिर्माण वा पुनर्निर्माण गरिएन भने यसले पुनर्जीवन पाउने सम्भावना छैन र कांग्रेस क्रमिक रूपमा विघटनको दिशातर्फ उन्मुख हुनेछ । जसको स्पष्ट सन्देश जनताले यसपटकको निर्वाचनमार्फत दिइसकेका छन् । अब सैद्धान्तिक–वैचारिक दृष्टिले मौलिक रूपमा पुनर्व्याख्या तथा सांगठनिक दृष्टिले व्यापक पुनर्गठन गरी नयाँ कांग्रेसका रूपमा रूपान्तरण गर्न आवश्यक छ । यस्तो कांग्रेसको सोच, संस्कार र कार्यशैली पनि लोकतान्त्रिक र उत्तरदायी हुनुपर्छ ।