कांग्रेसको ‘जरा अभियान’ देउवा समूहले गर्‍यो बहिष्कार

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको ‘जरा अभियान’ बहिष्कार गरेको छ । मंगलबारबाट सुरु भएको यो अभियान वैशाख महिनाभर जारी रहनेछ । कांग्रेस सभापति गगन थापाले काठमाडौं महानगरपालिका–३० बाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरेसँगै अभियान सुरु भएको हो ।

१४औँ महाधिवेशन पक्षधर नेता विमलेन्द्र निधिले पुनः सदस्यता नवीकरण गर्नुपर्ने र सदस्यता नवीकरण नगरेर खारेज गर्ने विषय आपत्तिजनक रहेको बताए । ‘१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरिसकेको अवस्थामा फेरि नवीकरण नगरेर खारेज हुन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ । त्यो कांग्रेसको विधानविपरीत छ । कांग्रेसका कार्यकर्तालाई त्यो मान्य हुँदैन । आफू महामन्त्री भएकै वेला गरिएको नवीकरण अहिले आएर खारेज हुन्छ भन्नु आपत्तिजनक छ,’ निधिले भने, ‘एउटै महाधिवेशनका लागि कतिपटक सदस्यता नवीकरण गर्ने ?’ 

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी मजबुत बनाउने दिशामा अभियान कोसेढुंगा साबित हुने विश्वास लिएको बताए । ‘यो सदस्यता अद्यावधिकसहितको नवीकरण हो, खारेजी होइन, व्यवस्थित ढंगबाट अद्यावधिक गर्ने गरी नवीकरण हो । अतः पार्टीका सबै तह, तप्का र शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि म हार्दिक अनुरोध गर्दछु,’ उनले भने । ‘रुख’को ‘जरा’ गोडमेल गर्न र पार्टीमा ताजगी अभिवृद्धि गर्न यो अभियानले मद्दत पुर्‍याउने विश्वास लिइएको प्रवक्ता देवराज चालिसेले बताए । ‘अभियानको क्रममा एकतर्फ राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रवाह हुनेछ भने अर्कातर्फ स्थानीय तहसम्म पार्टी जागरण र रूपान्तरण क्रममा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य हुनेछ,’ चालिसेले भने । अभियानमार्फत सात उद्देश्य राखिएको कांग्रेसले जनाएको छ । जसमा राष्ट्रियताको जरा सबल बनाउन, लोकतन्त्रको जरा सबल बनाउन, संघीयताको जरा सबल बनाउन, नागरिक विश्वासको जरा सबल बनाउन, सामाजिक एकताको जरा सबल बनाउन, पार्टीको जरा सबल बनाउन र आगामी महाधिवेशनको तयारीबारे रहेका छन् ।

खड्काको गतिविधिप्रति गगन असन्तुष्ट

अनधिकृत गतिविधिको सीमा नाघे नसहने, अनुशासन समिति बैठक आज

कांग्रेसमा संस्थापन र इतर पक्षबिच विवाद चुलिएका वेला सभापति गगन थापाले १४औँ महाधिवेशन पक्षधर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाहीको संकेत गरेका छन् । उनले अनधिकृत गतिविधिको सीमा नाघे नसहने चेतावनी दिएका छन् । ‘सभापतिको हैसियतले भन्दै छु– मलाई सहयोग गर्नुहोला । सहयोग गर्न नसक्नेले डिस्टर्ब नगर्नुहोला । पार्टी कार्यालयबाहिरबाट हुने अनधिकृत गतिविधिको सीमा नाघ्ने हो भने सहने कुरा हुँदैन,’ कांग्रेसको जरा अभियानअन्तर्गत काठमाडौं महानगरपालिका– ३० मा मंगलबार आयोजित कार्यक्रममा उनले भने । सदस्यतासम्बन्धी भ्रम र अफवाह नफैलाउन आग्रह गर्दै थापाले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटाइज गरिएको बताए । स्वयं फाराम भरेपछि प्रणालीमा इन्ट्री हुने र ओटिपीमार्फत प्रक्रिया पूरा हुने उनले स्पष्ट पारे । कुनै जिज्ञासा भए पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि उनले आग्रह गरे । 

थापाले प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्न सक्ने पार्टी बनाउनुपर्ने भन्दै सहयोगको आग्रहसमेत गरेका छन् । ‘नयाँ निर्वाचनका लागि पार्टीलाई तयार गर्नुपर्नेछ । प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्न सक्ने पार्टी बनाउनुपर्नेछ । यसमा मलाई सबैको सहयोग चाहिएको छ । कृपया सक्नेले मलाई सहयोग गर्नुहोला, नसक्नेले डिस्टर्ब नगर्दिनुहोला,’ थापाले भने, ‘सबैलाई मिलाएर लिएर जान्छु, सबैसँग संवाद गर्छु, तर सबैलाई मिलाएर जाने मेरो प्रयासलाई कसैले कमजोरी नठान्नका लागि आग्रह गर्छु ।’

कांग्रेस अनुशासन समिति बैठकको अघिल्लो दिन थापाको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिको बैठकले खड्कालाई अनुशासनको कारबाही गर्ने तयारी रहेको एक नेताले बताए । ‘उहाँले पटक–पटक हुँदै नभएको कार्यवाहक सभापतिका नाममा विज्ञप्ति जारी गर्नुभयो । देशभरका कार्यकर्तालाई निराश पार्ने काम गर्नुभएको छ । नयाँ वर्षको शुभकामना पनि कार्यवाहक सभापतिकै हैसियतमा दिनुभयो । सचेत गराउँदा पनि नभएपछि कारबाहीको विकल्प हुन्छ त ?’ थापानिकट एक नेताले प्रतिप्रश्न गरे । अनुशासन समितिका सभापति तारामान गुरुङले भने प्राप्त उजुरीमाथि अध्ययन गरेर निर्णय गर्ने बताए । 

अभियानका सात उद्देश्य

१. राष्ट्रियताको ‘जरा’ सबल बनाउन

  • संसद्मा रहेका दलहरूबिच राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र समग्रमा राष्ट्रियताको प्रश्नमा साझा दृष्टि र सहकार्य ।
  • देशबाहिर रहेका नेपालीको सुरक्षा र अधिकारका सन्दर्भमा पार्टीको प्रतिज्ञा पत्रबमोजिम देशभित्रको भावनात्मक जरा बलियो बनाउन आवश्यक नीतिगत, कानुनी र संरचनागत विषयमा पहल, संवाद र सहकार्य ।

२. लोकतन्त्रको ‘जरा’ सबल बनाउन

  • संसद्मा कांग्रेसको सहयोगी एवं खबरदारीपूर्ण भूमिका ।
  • संविधान संशोधनको प्रश्नमा लोकतन्त्रको सारभूत मूल्य मान्यतामा सम्झौता नगरी समयोचित दृष्टि, इमानदार अवधारणाको खोजी एवं परिणाममुखी सहकार्य ।

३. संघीयताको ‘जरा’ सबल बनाउन

  • संविधानको मर्मबमोजिम संघीयताको सबलीकरण गर्न आवश्यक कानुन निर्माणमा सहकार्य ।
  • कांग्रेस सहभागी रहेका प्रदेश सरकारहरूको गतिविधि समीक्षा, आवश्यक हेरफेर र समयानुकूल परिमार्जन गर्दै प्रदेश सरकार प्रभावकारी बनाउन यो अवधिमा उपयुक्त रणनीति अवलम्बन गर्ने ।
  • स्थानीय सरकार सञ्चालन प्रभावकारी बनाउन यही अभियान क्रममा सकारात्मक सन्देश प्रवाह गर्ने ।

४. नागरिक विश्वासको ‘जरा’ सबल बनाउन

  • समुन्नतिको प्रश्नमा दलगत आग्रहभन्दा पर समन्यायिक विकास दृष्टि ।
  • प्रदेश र स्थानीय तहमा रहेका पार्टीका साथीहरूको प्रभावकारिता वृद्धि ।
  • नवयुवाहरूसँग अनेक तहमा संवाद, तिनको सोच र सपनाअनुरूप रूपान्तरण र गति । राज्य, दलहरू र निजी क्षेत्रबिच बृहत्तर सहकार्यको खोजीका साथ निजी क्षेत्रको मनोबल अभिवृद्धि र थप दायरा विस्तारमा प्रोत्साहन ।

५. सामाजिक एकताको ‘जरा’ सबल बनाउन

  • जातीय, वर्गीय, धार्मिक, सामाजिक र सांस्कृतिक समूहहरूबिच सद्भाव अभिवृद्धिमा भूमिका ।
  • जातीय विभेद र सबै खाले विसंगति नियन्त्रणमा सहकार्य ।

६. पार्टीको ‘जरा’ सबल बनाउन

  • विमतिका विषयहरू न्यूनीकरण गर्दै पार्टीभित्र खुला संवाद र सहकार्य ।
  • विभिन्न समयमा विविध कारणले पार्टीबाट टाढा भएका साथीहरूलाई ‘घर–आँगन फर्क’ आह्वान ।
  • केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहसम्मका समितिहरूबिच विषयगत तादात्म्यता र सांगठनिक कार्यमा गति वृद्धि ।
  • भ्रातृ र शुभेच्छुक संस्थाहरूको कार्य समीक्षा, आवश्यक निर्णय र ‘जरा’ तहसम्म सम्बन्धित संस्थाहरूको प्रभावकारिता खोजी ।

७. आगामी महाधिवेशनको तयारी

  • विशेष महाधिवेशनले पारित गरेका दृष्टि, निर्माण गरेको नेतृत्व र अवलम्बन गरेका नीतिको परिवर्तित सन्देश प्रवाह गर्दै क्रियाशील सदस्यता व्यवस्थित रूपले अद्यावधिक गर्दै, आगामी असोजमा हुने पार्टीको १५औँ महाधिवेशन तयारी उत्साह र नवीन विश्वाससाथ अघि बढाउने ।

सुझावित समाचार