सञ्चालनमा आएको ४० महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा सटल बस सेवा सुरु भएको छ। महानगर यातायात प्रालि काठमाडौं, कृषि विकास बैंक र कामना सेवा विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले बस सेवा मंगलबारदेखि सञ्चालनमा ल्याएको हो। हाल सुविधा सम्पन्न विद्युतीय दुई बसबाट सेवा सुरु गरिएको हो। ती बस विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी सञ्चालन हुनेछ।
बस सेवाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यल शुभारम्भ गरेका थिए। विमानस्थलमा झरेका यात्रीहरूलाई बाहिर जान ट्याक्सीहरूले धेरै शुल्क लिएको गुनासो आएपछि त्यो गुनासोको अन्त्य गर्नेसँगै सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए। सञ्चालनमा आएका बसहरू आउँदो १ साउनसम्म नि:शुल्क सञ्चालन गर्ने र त्यसपछि सशुल्क सञ्चालन गर्ने आचार्यले जानकारी दिए।
आउँदो असार मसान्तसम्मको प्रभावकारिता हेरेर त्यसपछि परिष्कृत रूपमा बस सञ्चालन गरिने जानकारी दिँदै आचार्यले साउन १ देखि पूर्वमा वेगनास ताल र पश्चिममा फेवातालसम्म बस सञ्चालन गरिने बताए। दुई सिफ्टमा सञ्चालन गरिने बस बिहान ६ बजेदेखि राति विमानस्थलमा जति समयसम्म उडान हुन्छ, सोही समयसम्म सञ्चालन हुने मेयर आचार्यले बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आन्तरिक एवं बाह्य पर्यटकलाई यसले फाइदा हुने बताइन्। यसअघि यात्रुलाई असहजता भएको भन्ने धेरै गुनासो सुनेको बताउँदै सुरु सेवाले यस अघि यात्रुले भोग्दै आएको असहजता हट्ने उनले बताइन्।
महानगर यातायात प्रालिका अध्यक्ष सन्तोष खतिवडाले विमानस्थल आउने र जाने यात्रुहरूको सहजताका लागि सेवा सुरु गरेको जानकारी दिए। सेवाका कारण पर्यटकसँगै स्थानीयलाई विमानस्थल आउजाउ गर्न थप सहज हुने उनले बताए। सुरु सेवालाई विस्तारै विमानस्थलदेखि महानगरका प्रमुख र मुख्य बजार क्षेत्र जोड्ने उनले बताए।