सुनसरी र मोरङलगायत तराईका जिल्लाहरुमा बर्ड फ्लु रोग फैलिरहेको अवस्थामा लुकीछुपी अवैध रूपमा संखुवासभा भित्रिएको कुखुराको चल्ला नष्ट गरिएको छ।
सोमबार सदरमुकाम खाँदबारीमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र संखुवासभाले अवैध रूपमा संखुवासभा भित्र्याइएको बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेको हो।
जिल्ला प्रशासन कार्यालयहरुले बर्ड फ्लु नियन्त्रणका लागि तराईका विभिन्न जिल्लाहरुमा कुखुरा तथा चल्लाको ओसारपसार बन्द गरेको सूचना जारी गरेको अवस्थामा लुकीछुपी संखुवासभामा ४ हजार १ सय बोइलर कुखुराको चल्ला भित्राएको भेटिएकाले नियन्त्रणमा लिई नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र संखुवासभाका कार्यालय प्रमुख हिमालय पोखरेलले बताए।
आइतबार साँझ प्र–१–०२०० क ४९३२ नम्बरको गाडीमा बोइलर कुखुराको चल्ला ल्याएको र जिल्लाको दक्षिणी नाका केवाबेसीमा प्रहरीले चेकजाँच गर्ने क्रममा बरामद गरी नियन्त्रणमा लिई सोमबार जिल्ला प्रशासन कार्यालय संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी घाङरी लामा, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र संचारकर्मीलगायतको उपस्थितीमा खाल्डो खनेर पुरेको कार्यालय प्रमुख पोखरलले बताए।
‘मोरङको बुढीगंगा गाउँपालिका भिजु पोल्टी फर्मबाट बोइलर कुखुराको चल्ला ल्याएको पाइएको र सो क्षेत्रमा पन्छीहरुमा बर्ड फ्लु रोग फैलिएको भनेर नियन्त्रणका लागि ओसारपसार बन्द गरेको अवस्थामा लुकीछुपी ल्याएको पाएपछि नष्ट गरिएको हो,’ पोखरलले भने।