ई–बिडिङ ह्याकिङ प्रकरण: थप एक ठेकेदार सिआइबीद्वारा पक्राउ

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

सरकारको विद्युतीय बोलपत्र प्रणाली नै ह्याकिङ गरी सरकारी ठेक्का हात पार्ने गिरोहमा आबद्ध थप एक ठेकेदार पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले  शिवांस निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठलाई पक्राउ गरेको हो। 

यस प्रकरणमा यसअघि सिआइबीले ६ जनालाई पक्राउ गरिसकेको छ  ।  धनकुटा पाख्रिबास घर भएका दिवाकर देउजा, बझाङ दुर्गाथलीका भरत धामी, तनहुँ बन्दीपुरका सञ्जय भट्ट, काठमाडौं– ३३ का भाष्करराज अर्याल, मकवानपुर हेटौँडाका सागर कटुवाल र सुनसरी दुहबीका जीवनकुमार दासलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । सो अपराधमा संलग्नउपर विद्युतीय कारोबार ऐनका साथै संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए । 

एक समूहले वर्षाैँदेखि सरकारी विद्युतीय प्रणालीमा अनधिकृत पहुँच पुर्याएर अर्बौँका ठेक्का हत्याउने तयारी गरेको छानबिनमा खुलेको छ । बोलपत्र प्रविष्ट गर्नुभन्दा केही समयअघि ह्याकिङ गरेर अन्य कम्पनीहरूको आर्थिक प्रस्ताव हेर्ने र आफ्नो प्रस्तावलाई सबैभन्दा कम राखेर उनीहरूले ठेक्का हत्याउँदै आएका थिए । यसमा विदेशी ह्याकरलाई समेत प्रयोग गरिएको स्रोत बताउँछ । 

पछिल्लो घटनामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको करिब १० अर्ब रुपैयाँको ठेक्कामा अनधिकृत पहुँचको आशंका देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रारम्भिक छानबिन गरेको थियो । शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिइएको हो । उक्त ठेक्कामा आशिष निर्माण सेवा लगायतले ठेक्का पाउने तय भएको थियो । जसमा ह्याकिङ संलग्नता भएको आशंका गरिएको छ । सो कम्पनीका प्रबन्ध निर्देशक ऋषिकेश गौलीमाथि समेत अनुसन्धान भइरहेको स्रोत बताउँछ । 

त्यस्तै, सगुन इन्जिनियरीङका सहदेव खड्का, तुँदी कन्ट्रक्सनका सुमन सुवेदी, कुमार कन्ट्रक्सनका सुशील कुमार श्रेष्ठले ह्याकिङ गरेर ठेक्का पाएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय र सिआइबीमा उजुरी परेका छन् । उजुरीका आधारमा ती कम्पनीमाथि पनि छानबिन भइरहेको सिआइबीका एक अधिकारीले बताए। 

खासगरी ठुला ठेक्कामा यसरी ह्याकिङ हुने गरेको थियो । त्यसका लागि ह्याकरलाई मात्र उनीहरूले लाखौँ खर्च गर्दथे । सार्वजनिक खरिद अनुगमन कार्यालयकै पत्रका आधारमा पछिल्लो समय सिआइबीले साइबर ब्युरोसँग मिलेर यसमा विस्तृत अनुसन्धान थालेको हो । 

सुझावित समाचार