सिन्धुपाल्चोकबाट ८६ लाख मूल्यको अवैध चिनियाँ सामग्री बरामद

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

नेपाल–चीन सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वाटर सिन्धुपाल्चोकले भन्सार प्रज्ञापनपत्रविना चीनबाट ल्याइएको खुद्रा सामग्री बरामद गरेकाे छ।

गणका सूचना अधिकृत डिएसपी नवराज नेपालकाअनुसार लामाेसाँघु चेकप्वाइन्टबाट ती सामग्री बरामद गरिएको हाे। बरामद सामग्रीको बजार मूल्य ८६ लाख ३१ हजार आठ सय रुपैयाँबराबर रहेकाे छ।

तातोपानी भन्सार र प्रहरी चाैकीलाई छक्याएर बाह्रबिसे कटाइएको ना ३ ख ५१४० नम्बरकाे डब्बा कन्टेनरलाई लामाेसाँघु चेकप्वाइन्टमा सशस्त्र प्रहरीले राति साँढे २ बजे समातेको हाे। लामाेसाँघु क्याम्पमा रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक सियाराम चौधरीको कमाण्डमा खटिएको चेकपोष्ट टोलीले डब्बा भ्यान चेकजाँच गर्ने क्रममा बिलबिजक र भन्सार प्रज्ञापनपत्र नभएको ८६ लाख ३१ हजार आठ सय रुपैयाँबराबरको किराना सामान बरामद गरेकाे हाे।

सामान चेकजाँच गर्दागर्दै चालक भने भागेका बताइएको छ। उनको खाेजी भइरहेको सूचना अधिकृत नेपालले बताए। ‘१५ लाख रुपैयाँबराबरको डब्बा पनि नियन्त्रणमा लिएका छाैँ,’ उनले भने, ‘बरामद सामान साेही डब्बामा  राखेर तातोपानी भन्सार पठाइएको छ।’

तातोपानी भन्सारकाे यात्रु शाखाबाट थाेरै परिमाणमा सामान पास गरेर जम्मा गरी साना व्यापारीले प्रहरी र भन्सारलाई छलेर चिनियाँ खुद्रा सामान काठमाडौं पुर्याउने गरेका छन्। भन्सार छलेर चक्लेट, विस्कुट, मसला र विभिन्न प्रकारका ड्राइ फुड्स यसरी तस्करी हुँदै आएकाे छ।

सुझावित समाचार