कराँते वान प्रिमियर लिगमा एरिकाले जितिन् रजत

चीनमा भएको कराँते वान प्रिमियर लिगको स्वर्ण पदक भिडन्तमा नेपालकी एरिका गुरुङ विश्ववरीयताको शीर्ष स्थानमा रहेकी कजाकस्तानकी सोफिया बेरुत्सेभासँग पराजित भइन् । तीन महिनाअघि टर्कीमा भएको यसै प्रतियोगिताको फाइनलमा पनि सोफियाले एरिकालाई हराएकी थिइन् ।

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

नेपालकी कराँते खेलाडी एरिका गुरुङले चीनमा भएको कराँते वान प्रिमियर लिग, २०२६ मा रजत पदक जितेकी छिन् । उनले आइतबार ६८ केजी तौल समूहमाथिको स्वर्ण पदक भिडन्तमा कजाकस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गरेकी थिइन् । तर, फाइनलमा २–१ ले पछि पर्दा उनी पुनः एकपटक प्रिमियर लिगमा स्वर्ण जित्न असफल भइन् ।

सोफियासँग उनी दोस्रोपटक फाइनलमा पराजित भएकी हुन् । सोफिया आफ्नो तौल समूहको विश्ववरीयताको शीर्ष र एसियाको ११औँ स्थानमा छिन् । टर्कीमा भएको कराँते वान प्रिमियर लिगकै उपाधि भिडन्तमा एरिका सोफियासँगै पराजित भएकी थिइन् । 

प्रिमियर लिग वानमा ब्याक टु ब्याक फाइनलमा सोफियासँग प्रतिस्पर्धा गर्दा एरिकाले बदला लिन सकिनन् । विश्व कराँत महासंघको आयोजनामा प्रिमियर लिग वान वर्षमा चारपटक हुन्छ । एरिकाले सेमिफाइनलमा इटालीकी फेरा क्लेलाई ८–३ ले हराउँदै फाइनल स्थान पक्का गरेकी थिइन् । यसअघि उनले क्वार्टरफाइनलमा स्लोभाकियाकी मारिया जिबरेत जालालाई ८–० को एकपक्षीय स्कोरमा हराइन् । 

त्यसअघि समूह चरणमा एरिकाले लगातार तीन खेल जितेकी थिइन् । उनले पहिलो खेलमा मोन्टेनेग्रोकी जोमाना डामजानोभिचलाई २–० ले हराइन् । दोस्रो खेलमा एरिकाले डब्लुकेएफकी मारिया मालाखाभालाई पराजित गरिन् । मारियासँग १–१ को बराबरीपछि एरिका सेन्सुका आधारमा विजयी भएकी थिइन् । उनी तेस्रो खेलमा जर्मनीकी जोहान्ना कानिरलाई २–१ ले हराउँदै नकआउट चरणमा पुगेकी हुन् । जर्मनीकी जोहान्ना पछिल्लोपटकको विश्व च्याम्पियसिपमा स्वर्ण विजेता खेलाडी हुन् । 

नेपाली टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले एरिकाले फाइनलको दबाब सामना गर्न नसकेको चीनबाट नयाँ पत्रिकलाई बताए । ‘शारीरिक र प्रावधिक रूपमा एरिका कमजोर खेलाडी होइनन्, तर मानसिक रूपमा अलि कमजोर भएको महसुस भएको छ,’ श्रेष्ठले भने, ‘लगातार पुरानै प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दा एरिकाले मानसिक दबाब झेल्न नसकेको हो ।’ रजतमा सीमित भएपछि एरिकाले आउँदा दिनमा राम्रो प्रदर्शन गर्ने बताएकी छिन् । ‘यसपटक पनि स्वर्ण जित्न नसक्दा निराश छु, तर अर्कोपटक यो सपना पूरा गर्नेछु,’ उनले भनिन् । 

आठ इभेन्ट्समा २२ जित
विश्व कराँते महासंघको तथ्यांकअनुसार उनले यस सिजनमा नौवटा विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएकी छिन् । जसमध्ये २२ जित र आठमा हारको सामना गरेकी छिन् । समग्रमा एरिकाको जित प्रतिशत ७०.८३ रहेको छ । उनले विपक्षी खेलाडीविरुद्ध ११७–५९ को स्कोर गरेकी छिन् । एरिकाको युकोमा ८०.७७ र वाजारियोमा १०.२६ प्रतिशत जित रहेको छ । एरिकाले इपोनमा ८.९७ प्रतिशत जित निकालेकी छिन् ।

विश्ववरीयताको ११औँ स्थानमा रहँदा उनले २१४५ अंक बटुलेकी छिन् । उनले गत जनवरीमा टर्कीमा भएको कराँते वान प्रिमियर लिगमा दोस्रो स्थान पाएकी थिइन् । गत वर्ष नोभेम्बरमा भएको कराँते विश्व च्याम्पियनसिपमा एरिकाले १२औँ स्थान हात पारेकी थिइन् । गत वर्षकै अक्टोबरमा मलेसियामा सम्पन्न कराँते सिरिज १ मा उनले पहिलोपटक मुलुकलाई स्वर्णपदक दिलाएकी थिइन् । यसैगरी, गत वर्ष मेमा भएको कराँते १ प्रिमियर लिगमा उनले नेपाललाई कांस्य दिलाएकी थिइन् । सो प्रतियोगितामा उनले ५७० वरीयता अंक बटुलेकी थिइन् । 

तीन वर्षदेखि उत्कृष्ट फर्ममा
पछिल्लो तीन वर्षदेखि एरिका उत्कृष्ट फर्ममा छिन् । उनले अन्तर्राष्ट्रिय डेब्युमै नेपाललाई पदक दिलाएकी थिइन् । सहभागी भएको प्रतियोगितामा उनी एक वा दुईपटक पदकविहीन भएकी छिन् । यसबाहेका एरिकाले नेपाललाई पदक दिलाउँदै आएकी छिन् । प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षणमा एरिकाले नेपाली कराँते खेललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाइरहेकी छिन् । सन् २०२३ मा चीनमा भएको १९औँ एसियाली खेलकुदमा एरिकाले नेपाललाई रजत दिलाइन् । 

त्यसपछि उनले सन् २०२४ मा युएस ओपन इन्टरनेसनल कराँते च्याम्पियनसिपमा स्वर्ण र रजत हात पारिन् । उनले अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा स्वर्ण जित्दै अर्को ऐतिहासिक प्रदर्शन गरिन् । मोरोक्कोमा भएको कराँते १ प्रिमियर लिगमा पनि उनले कांस्य पदक जितेकी थिइन् । त्यसवेला उनी एक्लै मोरोक्को गएकी थिइन् । विदेशी प्रशिक्षकको सहयोगमा उनले नेपाललाई पदक दिलाएकी थिइन् ।

थप अन्तर्राष्ट्रिय  एक्सपोजरको आवश्यकता
छोटो समयमा कराँतेमा आफ्नो पहिचान बनाएकी एरिकालाई अझै अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको उनका प्रशिक्षक श्रेष्ठले बताएका छन् । ‘नेपाली खेलाडीमध्ये एरिकाले धेरै एक्सपोजर पाएकी छिन्, तर यो पर्याप्त होइन,’ श्रेष्ठले भने, ‘यो लेभलमा स्वर्ण पदक जित्न थप अन्तर्राष्ट्रिय खेलको सहभागितासँगै कडा मिहिनेत आवश्यकता देखिन्छ ।’ प्रिमियर लिग वानमा प्रतिस्पर्धा गर्न आउने खेलाडीमध्ये एरिका मात्र सबैभन्दा कम एक्सपोजर प्राप्त हुन् । 

‘एरिकाको अन्तर्राष्ट्रिय सहभागिता संख्या हेर्यौँ भने लगभग आठौँ हुनुपर्छ । तर, यहाँ प्रतिस्पर्धा गर्न आएका अन्य खेलाडीको अन्तर्राष्ट्रिय खेलको सहभागिता संख्या भने पनि ४४ देखि ४६औँ पनि छन्,’ श्रेष्ठले भने, ‘त्यही भएर पनि फाइनलमा उनी पछि परेको हो ।’ नेपालबाहेक अन्य शक्तिशाली राष्ट्रका खेलाडीहरूले जुनियर क्याडेडदेखि नै सहभागिता जनाउँदै आएको श्रेष्ठले बताए । सोफियाले अहिलेसम्म ४१ अन्तर्राष्ट्रिय इभेन्ट्समा सहभागिता जनाइसकेकी छिन् । उनले ३०९२ वरीतया अंक बटुलेकी छिन् । नेपालकी एरिकाले ६ अन्तर्राष्ट्रिय खेलबाट २१४५ वरीयता अंक हात पारेकी छिन् । 

एरिकाले दबाब थेग्न सकिनन्
 कुशल श्रेष्ठ, कराँते प्रशिक्षक, नेपाल

प्रिमियर लिग वानको फाइनलअघिसम्मको प्रतिस्पर्धाको विश्लेषण गर्दा एरिका प्राविधिक तथा शारीरिक रूपमा बलियो खेलाडीकै रूपमै पाएँ । समूह चरणदेखि सेमिफाइनलसम्म उनले आफूभन्दा बलिया प्रतिद्वन्द्वीलाई हराइन् । तर, स्वर्ण पदक भिडन्तमा भने मानसिक रूपमा कमजोर भइन् । यसअघि टर्कीमा भएको प्रिमियर लिग वानको फाइनलमा पनि सोफिया नै प्रतिद्वन्द्वी थिइन् । लगातार एकै प्रतिद्वन्द्वीसँग फाइनल खेल्दा उनले मानसिक दबाब झेल्न नसकेको जस्तो लाग्छ । मेरो विचारमा उनलाई फाइनल जित्नुपर्ने दबाब थियो । यही दबाब थेग्न सकिनन् । आउँदा दिनमा यस्ता समस्या बिस्तारै चिर्दै जान्छौँ ।’

सुझावित समाचार