राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई ३ प्रश्न

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

निर्वाचन परिणामपछि थलिएका पुराना दलहरूमा किन आन्तरिक किचलो बढेको होला ?
पुराना दलहरूभित्रको किचलो आन्तरिक र उत्प्रेरित दुवै समस्या हो । पुराना दल र तिनका नेताहरूमा अझै पनि आफूहरू सत्ताकै वरिपरि रहेको भ्रम छ । अहिले नयाँ दल सरकारमा पुगेको छ, सत्तामा कायाकल्प भइसकेको छ भन्ने उनीहरूलाई पत्तै छैन, या यो यथार्थलाई उनीहरूले पत्याउनै सकेका छैनन् । आगामी केही समयपछि जब सिडिओ, प्रहरी या निजामती कर्मचारीले यिनका कुरा सुन्न र टेर्न छाड्छन्, त्यसपछि मात्र उनीहरू त्यो पुरानो ‘ह्याङ’बाट ब्युँझनेछन् । सायद, त्यसपछि यिनको चेत खुल्ला कि ?

पुराना दलहरू सुध्रिने सम्भावना कति देख्नुहुन्छ ?
जब यिनका कार्यकर्ताले असुरक्षित या असहाय महसुस गर्न थाल्छन्, जब यिनको वाहवाही समाप्त हुन्छ, त्यतिखेर चेत पलाएर यिनले सुध्रिने बाटो समात्न सक्छन् । पुराना दलका नेताहरूमा अझै पनि एउटा अचम्मको धङधङी देखिन्छ । उनीहरू अहिले नयाँ सरकार बन्नुलाई विगतमा शेरबहादुर, केपी ओली या प्रचण्डको आलोपालो नेतृत्वजस्तै ठान्ने भुल गरिरहेका छन् । नयाँ शक्ति या सरकार छिट्टै जान्छ भन्ने भ्रममै छन् उनीहरू । त्यसैले, जब त्यो भ्रम हट्नेछ, तब यिनमा सच्चिने दबाब बढ्छ र सच्चिन्छन् पनि । 

यतिखेर पुराना दलहरूले जनतासित जोडिन के गर्नुपथ्र्यो ?
जनतासित जोडिन पुराना दलले नयाँ नारा, विचार र नयाँ नेतृत्व अघि सार्न सक्नुपथ्र्यो । विगतको विरासत र आफूले बसेको हिरासतको कथा बेचेर अबको राजनीति चल्दैन । आफ्ना राम्रा पात्र र प्रयत्नलाई जनतामाझ उजिल्याउन सक्नुपर्छ । विगतका असल नेतृत्व र राम्रा कामबारे पनि जनतालाई जानकारी गराउनुपर्छ । नयाँ भन्दैमा सबै राम्रा र पुराना भन्दैमा सबै खराब हुँदैनन् भन्ने भाष्य स्थापित गराउन सक्नुपर्छ । 

सुझावित समाचार