संघीय राजधानी उपत्यकामा बेलुकी ८ बजेदेखि नै सार्वजनिक यातायातका साधन पाइँदैनन् । सडक सुनसान बन्न थाल्छ । अधिकांश रुटका सवारीसाधन बन्द भइसक्छन् । सम्साँझै सार्वजनिक सवारी बन्द हुँदा दिनभरि आ–आफ्नो काममा निस्किएका सर्वसाधारणलाई कोठा र घर फर्किन सास्ती हुन्छ । सवारीसाधन नगुड्दा अस्पतालदेखि सपिङ गर्न आउने सेवाग्राहीसमेत पैदल हिँडिरहेका हुन्छन् । सवारीसाधन नपाइने भएकाले कतिपयलाई हतारहतार कामबाट निस्कनुपर्ने बाध्यतासमेत छ । ८ बजेदेखि नै सवारीसाधन बन्द भएपछि कामबाट ढिलो हुँदा वा अन्य अत्यावश्यक काम परेकाहरू महँगो ट्याक्सी तथा राइडर प्रयोग गर्न बाध्य छन् ।
अब भने आफ्नो काम तथा आवश्यकताले घर तथा डेरामा फर्कन ढिलो हुनेलाई केही राहत मिल्ने भएको छ । काठमाडौं महानगरपालिकाले १ वैशाखदेखि विद्युतीय रात्रिबस सञ्चालन गर्दै छ । ८ देखि ११ बजेसम्म सञ्चालन हुने बसले अस्पताल, सपिङ, दैनिक कामकाजदेखि घुम्न हिँड्नेलाई समेत राहत मिल्नेछ । रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले साझा यातायातसँग सहकार्य गरेको छ ।
‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नुपर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकाले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ,’ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ, त्यसमा पनि किशोरी र महिलाले दुव्र्यवहार भोग्नुपरेको छ, विद्यार्थीलाई आर्थिक रूपमा धेरै मर्का छ, यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौँ ।’
उनका अनुसार सुरुमा दुई मुख्य रुटमा चारवटा बस चले पन आवश्यकता हेरेर फेरि थपिँदै लगिनेछ । तर, विगतमा जस्तो यो बस सेवा बन्द नहुने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ । तोकिएको रुटका बसस्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । तर, धेरै बेर यात्रुलाई कुरेर बस रोकिने छैनन् । रातिको समयमा धेरै यात्रुहरू नहुने भएकाले यात्रु देखेपछि वा हात दिएपछि मात्रै बस रोकिनेछन् । बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने महानगर नगर प्रहरीले सुरक्षासमेत दिनेछ ।
यस्तो छ बस चल्ने रुट
रात्रिकालीन बस सबै रुटमा भने चल्नेछैन । महानगरका अनुसार ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । यो रुटमा उत्तर–दक्षिण गरी १६ किलोमिटरको एकतर्फी रुट पर्छ । अर्को रुट थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म चल्नेछ । यसलाई पूर्व–पश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटर तोकिएको छ । काठमाडौंको कोटेश्वर, सातदोबाटो, ग्वार्को, सुन्धारा, रत्नपार्क, बसपार्क, गौशाला, चाबहिल, कलंकी, गोंगबु, सुकेधारालगायत क्षेत्रमा बस कुर्नेको भिड लाग्छ ।
डेढ वर्षमै बन्द भएको थियो रात्रिबस
काठमाडौं उपत्यकाका यसअघि पनि रात्रिबस सञ्चालन नगरिएको होइन । तर, क्षणिक समय चलाएर बन्द गरियो । १ भदौ ०६९ मा काठमाडौं महानगरपालिकाको अनुदानमा रात्रिबस सञ्चालनमा आएको थियो । त्यतिवेला डेढ वर्षमै बन्द गरियो । चालकले यात्रु नपाइने समस्या देखाएपछि बन्द गरिएको थियो । त्यतिवेला तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले न्युरोड गेटमा राति तीन घण्टा मात्रै चल्ने बसको रिबन काटेर सुरुवात गरेका थिए ।
रात्रिबसमा सिसिक्यामेरा र हतियारसहितका प्रहरीसमेत राखिएको थियो । उक्त बसको समय तालिका राति ८ बजेदेखि ११ बजेसम्म थियो । त्यस समयमा १४ वटा विभिन्न रुटमा ८ बजेपछि गुडाउने गरिएको थियो । बस सञ्चालन गर्नका लागि त्यतिवेला महानगरपालिकाले ४५ लाख अनुदान सहयोगसमेत गरेको थियो । तर, पछि यात्रु नपाइने भन्दै बन्द नै गरियो ।
प्रतिनिधिसभा संसद् तथा यातायातविज्ञ आशिष गजुरेलले काठमाडौं तथा देशका ठुला सहरी क्षेत्रमा रात्रिकालीन बस अत्यावश्यक भएको बताए । ‘हामीकहाँ गुड्ने सबैजसो सार्वजनिक यातायात निजी क्षेत्रका छन् । साझा यातायातमा मात्रै राज्यको लगानीमा छ, तर ती बस पनि सीमित छन्, यसपटक साझासँग समन्वय गरेकाले रात्रिकालीन बस सेवा टिकाउ हुन सक्छ,’ उनले भने, ‘काठमाडौंमा २४सै घण्टा सार्वजनिक यातायात सञ्चालन हुनुपर्छ, मैले यसमा पहिलेदेखि नै उठाउँदै आएको हुँ, रातिको २ बजे पनि सार्वजनिक यातायात उपलब्ध हुनुपर्छ ।’